काठमाडौं १९ माघ
सरकारले निर्वाचन सम्बन्धी प्राविधिक लगायत सबै तयारी अगाडी बढाउन निर्वाचन आयोगलाई औपचारिक आग्रह गर्ने भएको छ । ७ माघ २०७४ भित्र तिनै तहको निर्वाचन गरिसक्नुपर्नेमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मोर्चासँग सहमति नजुटेपछि सरकार वैकल्पिक बाटो अगालेर वैशाखभित्र नै निर्वाचन गर्ने गरी आयोगलाई आग्रह गर्नेमा पुगेको हो ।
नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक बिहीबार बस्दैछ । उक्त बैठकले निर्वाचन आयोगलाई औपचारिक रुपमा निर्वाचन सम्बन्धी सबै काम अगाडी बढाउन आग्रह गर्ने निर्णय गर्नेछ । प्रधानमन्त्रीको सचिवालयले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकले निर्वाचन मिति तोक्ने तयारी गरेपनि राजनीतिक विषयमा छलफल गरेर सहमतिमै अगाडी बढौं भन्ने उद्देश्यले अहिलेलाई वैशाखभित्र निर्वाचन सम्पन्न गर्न सक्ने गरी तयारी अगाडी बढाउन आयोगलाई आग्रह गर्ने र चाँडै नै निर्वाचन मिति पनि घोषणा गर्ने सरकारको तयारी रहेको बताएको छ । ‘बैठकले प्राविधिक तयारी अगाडी बढाउन आग्रह गर्ने र दलहरुसँग छलफल गरेर अर्को हप्ता बस्ने मन्त्रीपरिषद बैठकले मिति तोक्नेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।
वैशाखमा निर्वाचन सुनिश्चितता गर्न यस्तो तयारी: कानुनमन्त्री
मन्त्री नायक
कानुनमन्त्री अजय शंकर नायकले वैशाखभित्रै निर्वाचन सम्पन्न गराउन सरकारले यस्तो रणनीति अपनाएको बताए । निर्वाचन नगरी संविधान कार्यान्वयन नै अप्ठ्यारोमा पर्ने भएकाले र मोर्चासहित सबैलाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने आवश्यकता समेत भएकाले निर्वाचनको काम पनि अघि बढाउन र राजनीतिक सहमति पनि एकैसाथ बढाउने पक्षमा सरकार रहेको उनले बताए ।
सरकारको यस्तो निर्णयले वैशाखमा निर्वाचन हुने निश्चित बन्ने समेत उनले दाबी गरे । ‘निर्वाचन आयोगलाई तयारी थाल्न नभनिए वैशाखमा निर्वाचन नै हुन गाह्रो छ, वैशाखभित्रै निर्वाचन सम्पन्न गराउन सरकारले यो बाटो अगालेको होे,’ मन्त्री नायकले भने ।
पत्र पनि लेख्न सकिन्छ : मन्त्री लेखक
मन्त्री लेखक
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मन्त्री परिषदको बैठकबाट निर्वाचन आयोगलाई तयारीका लागि आवश्यक परेमा औपचारिक रुपमा पत्र लेखेर आग्रह गरिने बताए । निर्वाचनका विषयमा मिति नै नतोके पनि आवश्यक तयारी गर्न सकिने उनको भनाई छ ।
मोर्चाले संविधान संसोधन नभई निर्वाचनमा सहभागी हुन्नौं भनिरहेको, प्रमुख प्रतिपक्ष निर्वाचनको मिति घोषणा गर्नका लागि आग्रह गरिरहेको अवस्था हो, उनले भने ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।