पर्वत १३ माघ । मधेसी मोर्चा लगायत पक्षको माग सम्बोधनका लागि व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नभई निर्वाचन मिति घोषणा नहुने पक्कापक्की जस्तै बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नै पर्वतमा सार्वजनिक कार्यक्रममा नै बिहीबार विधेयकहरु पारित नगरी निर्वाचन घोषणा गर्नु उचित नहुने बताउँदै संशोधन विधेयक पारित गर्न अगाडी निर्वाचन मिति घोषणा नहुने संकेत गरेका छन् । ‘विद्येयकहरु पारित नगरी निर्वाचनको मिति घोषणा गर्नु राम्रो हुँदैन’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनको मिति घोषणा गरेपछि त्यो कार्यान्वयन हुनैपर्छ, म कार्यान्वयन हुने निर्वाचनको पक्षमा छु र निर्वाचन गर्न आतुर छु ।’
कार्यक्रममा उनले आउने माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्ने संकल्पमा रहेको बताउँदै संविधानको स्वीकार्यतामा सहमत गराएर निर्वाचनमा लैजान निरन्तर प्रयत्नमा आफू रहेको बताएका थिए ।
कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापारिक ‘हब’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापारिक ‘हब’ हुने बताएका छन् । बिहीबार पर्वतको कुश्मा बजारमा आयोजित पाँचौं पर्वत महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले पर्वत जिल्ला व्यापारिक ‘हब’ हुने बताएका हुन् ।
महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘मानव विकास सूचाकांक र विकासका सम्भावनाका दृष्टिले पर्वत अग्रस्थानमा छ । पर्यटन, धार्मिक पर्यटन, पुल, जलविद्युत लगायतका दृष्टिले पर्वत प्रचुर सम्भावना भएको जिल्ला हो । स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि पर्वत अग्रभागमा छ । कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापाारिक हव बन्छ । विद्युत उत्पादनका दृष्टिले मोदी र कालीगण्डकी नदी महत्वपूर्ण छ । सरकारले कालीगण्डकी करिडोर प्रशारण आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । खुर्कोटमा राखिने प्रशारण लाइनले त्यसमा थप योगदान दिनेछ ।’
महोत्सवमा प्रधानमन्त्रीले थपे, ‘भूमिगत कालमा पनि म पर्वत आएको थिएँ । पर्वत जिल्लासँग मेरो परिचय नयाँ होइन । तर, औपचारिक कार्यक्रममा म पहिलोपटक आएको छु । तपाईहरुले उठाएका मागहरुबारे सरकार गम्भीर छ । मैले पर्वत जिल्लाको विकासमा केही न केही योगदान गर्न यहाँ आएको हुँ । तपाईहरुले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ भन्ने मलाई गहिरो हेक्का छ ।’
सरकारले विकास र आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यो पटक पदभार ग्रहण गरेपश्चात् राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न विशेष जोड गरिएको छ । लोडसेडिङ अन्त्यका लागि धेरै मेहेनत गरिएको छ । विकासका सम्भावनाहरुलाई यथार्थतामा बदल्न सरकार प्रयत्नशील छ । यसपटक देशका चारै कुनाका विकास आयोजनाहरुको अनुगमन र निरीक्षण गरिरहेको छु । संविधानले व्यवस्था गरेको समाजवादउन्मूख राज्यको आधारका लागि आर्थिक समृद्धि र जनताको जीवनमा परिवर्तन आउन जरुरी छ । मैले विकासका लागि छिमेकीहरुसँग पनि कुटनीतिक पहल गरिरहेको छु । जलविद्युत, मेघा आयोजना, कनेक्टिभिटी र पर्यटनमा हामीले ठूलो उपलब्धि हासिल गर्न सक्छौं । हामीले पूर्वाधार निर्माण गर्न सक्यौं भने विकास र पर्यटनमा ठूलो फड्को हान्न सम्भव छ ।’
Comments