काठमाडौँ ५ माघ । आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाउनुपर्नेमा ३१ दल गायब बनेका छन् । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् भने बाँकी ३१ दल भने हराएका छन् । तर ती ३१ वटै दल विघटन वा कमजोर भएर आयव्यय विवरण नबुझाएको भन्दा पनि कमजोर कानुनमा जे गर्दा पनि हुन्छ भन्ने भावनाका कारण आयव्यय नबुझाएका हुन् ।
यसरी आयव्यय नबुझाउनेमा संसदमा प्रतिनिधित्व गर्ने पाँच दल समेत रहेका छन् ।
व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने ३० दलमध्ये २४ दलले मात्र वार्षिक आयव्यय बुझाएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने ३० दलमध्ये प्रेमबहादुर सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी यसभन्दा अगाडि नै खारेज भएको थियो भने चालु आवमा पाँच दलले आयव्यय विवरण बुझाएका छैनन् ।
आयव्यय नबुझाउने पार्टीमा सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), मधेस जनअधिकार फोरम (गणतान्त्रिक), दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दल रहेका छन् ।
आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् ।
यस्तै अन्तरिम संविधान २०६३ अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा २६९ अनुसार दर्ता हुन नआएका ६ वटा दलले पनि वार्षिक आयव्यय बुझाएको निर्वाचन आयोगका अधिकृत घमचन्द्र तिम्सिनाले बताए ।
तोकिएको समयमा वार्षिक आयव्यय नबुझाउने दललाई रु १०० जरिवाना र निर्वाचनको बेला निर्वाचनमा भाग लिन नपाउने व्यवस्था समेत छ ।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट १२२ र समानुपातिकबाट १२१ दलले निर्वाचनमा भाग लिएका थिए ।
Comments