काठमाडौं ३ माघ
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युतमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा द्रुत गतिले लागि परेकाले पनि जलविद्युत् क्षेत्रमा लगानी नै उत्तम विकल्प रहेको भन्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदाय सामु लगानी गरे सत प्रतिशत मुनाफा आउने समेत जनाएका छन् ।
प्रधानमन्त्री दाहालले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको भन्दै नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भएको र प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने भएकाले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानात्कृष्ट गरेका थिए ।
संयुक्त अरब इमिरेटस् (युएइ) को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको ऊर्जा क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको तथा यातायात र अन्य पूर्वाधारका परियोजना अगाडि बढिरहेकाले ऊर्जा क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताए ।
प्रधानमन्त्री दाहालले सरकारले वैदेशिक लगानीका लागि सहज नीति अवलम्बन गरेको भन्दै नेपाल एसियामै लगानीका लागि सहज मुलुकका रुपमा स्थापित भएको समेत उल्लेख गरेका थिए । ऊर्जा उत्पादनका लागि सरकारले अलग्गै परियोजना विकास सम्झौता गर्ने नीति लिएको छ, एकद्वार प्रणाली र सहयोगी कर्मचारीतन्त्रले पनि विकासको आधार तयार भएको छ, सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘नेपाल दक्षिण एसियामै लगानीका लागि सहज मुलुकका रुपमा स्थापित समेत भएको छ ।’
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको २०२५ सम्म दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको समेत बताए । हामीले राष्ट्रिय ऊर्जा सङ्कट निवारण र विद्युत् विकास दशकको कार्ययोजना अगाडि बढाएको सन् २०२५ सम्म दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौं, उनले भने, ‘त्यसका लागि सहज नीति, निजी क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय ऊर्जा उत्पादनमा अनुदान आदि नीति अगाडि सारिएको छ ।’
Comments