खोटाङ, १८ पुस ।  किराती राष्ट्रिय मुक्ति मोर्चाले अब हुन लागेको सबै तहको निर्वाचन नयाँ संरचना अनुसार हुनुपर्नेमा जोड दिएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको खोटाङमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनपछि पत्रकार सम्मेलन गरेर मोर्चाले यस्तो बताएको हो । 
पुरानो संरचनामा निर्वाचन गरिए जनयुद्धबाट प्राप्त सबै उपलब्धी गुम्ने निश्चित रहेको मोर्चाका महासचिव अर्जुन जम्नेलीले बताए । “वर्तमान सरकार र राजनीतिक पार्टीले पुरानो संरचनामा निर्वाचन गर्ने तयारी गरेमा मोर्चाले बहिस्कार गर्छ ।” पत्रकार सम्मेलनमा बोल्दै उनले भने “लामो संघर्षपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्न पनि नयाँ संरचनामा निर्वाचन गर्नुपर्ने हुन्छ ।” 
दिक्तेलमा तीनदिनसम्म सञ्चालन भएको मोर्चाको राष्ट्रिय सम्मेलनले दश बुदे खोटाङ घोषणापत्र जारी गरेको छ । सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावको समर्थन गर्ने, किरात गणराज्यलाई संस्थागत गर्न माग गर्ने, जातीय पहिचानको मुद्दालाई स्थापित गराउने, जननायक रामप्रसाद राईलाई विभूति घोषणा गर्न माग गर्ने, चालु आर्थिक वर्षभित्र पुष्पलाल लोकमार्ग कालोपत्रे सम्पन्न गराउन दबाब दिने, देशमा भएका बाह्य तथा आन्तरिक प्रतिक्रियावादीको हस्तक्षेप विरुद्ध आन्दोलन गर्ने लगायत दश बुदे निर्णय पारित गरिएको महासचिव जम्नेलीले बताए ।
बासुको अध्यक्षतामा १६५ सदस्यीय कार्यसमिति
मोओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा (बादल)ले शनिबार उद्घाटन गरेको मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट राजन किराती (बासु) को नेतृत्वमा १६५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । 
अध्यक्षसहित सबै पदाधिकारी सर्वसहमतिमा चयन गरिएको मोर्चाले पत्रकार सम्मेलनमा जनाएको छ । 
मोर्चाको उपाध्यक्षमा प्रकाश राई, नगेन्द्र खाम्ले, तीलकप्रसाद राई, शौभाग्यवतीदेवी राई, राजेन राई, टीका लिम्बु, जयप्रकाश राई, आशा कुलुङ, किशोरकुमार राई, भाइ किराती, अशोक राई, बिनोद सुनुवार, अरुणा राई (दिक्षा) र राकेश किराती चयन भएका छन् । समितिको महासचिवमा अर्जुन जम्नेली राई, उपमहासचिवमा वसन्त राई र रेखराज राईलाई चयन भएका छन् ।
यस्तै, सचिवमा बिर्षिका राई, डेकेन्द्रकुमार राई, कपिल राई, विमल किराती, हस्त राई, नविन राई, चित्रकुमार राई, सन्ध्या राई, शोनिया राई, भीम राई, कुमार जेरो, ज्ञान किराती र हर्क छिन्ताङ तथा कोषाध्यक्षमा कमला राई चयन  । सबै पदमा सर्वसहमतिमा नेतृत्व चयन भएको हो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।