काठमाडौं १२ पुस ।
सरकारले असन्तुष्ट समूहको माग सम्बोधनका लागि संसदमा दर्ता गरेको संविधान संशोधनले देश विघटन हुने भनेर प्रतिपक्षी एमालेले बताइरहँदा देश टुक्रने विषय औपचारिक रुपमा नै प्रमुख दलको बैठकमा उठेको छ ।
आइतबार सभामुख ओनरी घर्ती मगरले आह्वान गरेको प्रमुख दलको बैठकमा संयुक्त मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अधयक्ष महन्थ ठाकुरले विश्वका उदाहरण प्रस्तुत गर्दै देश टुक्रन सक्ने स्पष्ट संकेत गरेका हुन् ।
प्रतिपक्षी एमालेप्रति लक्षित हुँदै ठाकुरले गणितको मात्रै दम्भ गर्दा विश्वराजनीतिमा देशहरू अलग हुन पुगेको इतिहास स्मरण गर्न आग्रह गरेका थिए । ‘एउटै देशमा एक वर्गको भाषा, भेषभूषा हुनसक्ने, अरूको किन हुँदैन ? ठाकुरले निक्कै आक्रोशित शैलीमा भने, ‘९० र १० प्रतिशतको कुरा हो भने १० प्रतिशतले ९० प्रतिशतबाट अलग हुने प्रस्ताव राख्न सक्छ ।
९० प्रतिशतको बन्दुक र गोलीगट्ठाविरुद्ध राम्रै प्रतिकार गरेको दिनको जिम्मेवार को हुने ? उनले थपे, ‘१० प्रतिशत किन चाहियो रु हिम्मत भए सबै नीति निर्णय एक्लै गरे हुन्छ । हामी पनि समय, परिस्थितिअनुकूलको प्रतिकारका लागि तयार छौं ।’
ठाकुरले कथित राष्ट्रवादको नाराले केही नहुने भन्दै सहमति, सहकार्य र एकता राष्ट्रियताको मापदण्ड हुनुपर्छ भन्ने मान्यतामा रहेको बताएका थिए ।
बैठक वर्तमान समस्या समाधान गर्नमा भन्दा संविधान संशोधन प्रस्ताव सम्पूर्ण रूपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जानसक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावनीमै सिमित बन्न पुगेको थियो । मोर्चा र एमालेको आ-आफ्ना हठका कारण लामो समयदेखि संसद चल्न सकेको छैन भने संविधान कर्यान्वयनको काम समेत ओझेलमा परेका छ ।