फेसबुकमै साथी, फेसबुकबाटै साढे २ लाख ठगी

झापा, १२ पुस । के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने होस् गर्नुहोस् । 
फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन् । फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् । 
उनीलाई मार्टले आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताइन् । मार्टले आफूसँग रु दुई लाख १९ हजार ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धान पछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ । 
पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई सोमबार बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार मार्टले राईलाई फेसबुकमार्फत एभरेस्ट बैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र उक्त रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 
मार्टको नाममा नक्कली आइडी बनाएर पोखरेलले उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । रासस

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।