मंसिर २२ काठमाडौं । अन्तराष्ट्रिय बक्सिङ खेलाडी दिपक महर्जनले गत वैशाख १२ को भूकम्पमा निधन भएका आफ्नी आमा, दाई भाउजु र भतिजीको स्मृतीमा भैरवनाथ मन्दिरको पुननिर्माण गरेका छन् ।
पुननिर्माण गरिएको भैरवनाथको मन्दिर ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अवस्थित सतुंगलस्थित बोसीगाउँमा रहेको प्राचीन कालदेखि अवस्थित मन्दिरको पुननिर्माणपछि मंगलबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । १२ वैशाखको महाभूकम्पले सो मन्दिर समेत क्षतिग्रस्त बनाएको थियो । कलात्मक झ्याल ढोका रहेको उक्त मन्दिर भूकम्पले क्षतिग्रस्त बनेपछि पुननिर्माण गरिएको छ ।

भूकम्पबाट दिपक महर्जनकी आमा इन्द्रमाया, दाई जयराम, भाउजु मिरा र २ वर्षकी भतिजी जसमिराको निधन भएको थियो । खेलाडी दिपक र महर्जन परिवार साइला महर्जन (दिपकका बुवा), श्याम कृष्ण महर्जन तथा विकी महर्जन र रवि बहादुर जोन्छेसहित महर्जन परिवारको श्रम र आर्थिक सहयोगमा भैरवनाथ मन्दिरको पुन निर्माण भएको हो ।
सय वर्ष अगाडी बनाइएको अनुमान गरिएको उक्त मन्दिर परिसरमा हरेक वर्ष भैरवनाथ जात्रा निकाल्ने गरिन्छ ।
नयाँ कामको थालनी : प्रवक्ता भुसाल
भैरवनाथ मन्दिर पुननिर्माणको उद्घाटन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी स्थायी समिति सदस्य तथा प्रवक्ता पम्फा भुसालले दिपक परिवार र बोसीगाउँबाट नयाँ कामको थालनी भएको भन्दै प्रसंशा गरेकी छिन् ।

परिवारका सदस्यको मृत्युलाई समेत अरुको हितमा सुम्पनु सुखद कदम भएको उनको भनाई छ । ‘मृत्यु सत्य हो, बाध्यकारी छ’, प्रवक्ता भुसालले भनिन्, ‘तर, परिवारका सदस्यको मृत्युलाई अरुको हितमा हुने गरी सामाजिक काम गर्नु धेरै राम्रो सोच हो, यो राम्रो कामको थालनी हो ।’

पूर्वमन्त्री समेत रहेकी प्रवक्ता भुसालले सबै भूकम्प पीडितले अझैपनि राहत तथा बस्ने ठाउँ नपाएको भन्दै सरकारलाई व्यवस्था गर्न माग समेत गरिन् ।
कार्यक्रममा मन्दिर भवन निर्माण समिति संयोजक दिपक महर्जनले परिवारका सदस्यहरुको सम्झनामा केही गरौं भनेर सामाजिक काम गरेको बताए । आफ्ना परिवारका साथै भूकम्पमा मृत्यु भएकाहरुप्रति उनले समवेदन समेत प्रकट गरे ।
मन्दिर उदघाटन कार्यक्रममा निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।