मंसिर १३ । लमजुङको इशानेश्वर–२, लक्ष्मीबजारका २५ वर्षीय रदी मियाँले घरेलु सामग्रीको प्रयोगबाट खान पकाउन मिल्ने ग्याँस बनाएका छन् । यसअघि गाउँमै बसेर अल्ट्रालाइट जहाज बनाएर चर्चा कमाएका मियाँले आफ्नो नौलो खोजीको सञ्चारकर्मीमाझ प्रयोगात्मक प्रदर्शनसमेत गरेका छन् ।
बाँसको पानी, खिर्रोको चोप, सालधूप, सोडा आदि सामग्री मिश्रण गरी उनले ग्याँस उत्पादन गरेका हुन् । ठूलो बोतलमा राखिएका ती सामग्रीमा पाइप जडान गरेर मोटरसाइकलको पम्पमार्फत खाली सिलिन्डरमा हालेपछि त्यसबाट चुलो बल्छ ।
आफ्नै बुबासँग प्रज्वलनशील चिजहरूका बारेमा जानकारी लिएपछि यो खोजी गरेको उनले बताए । बुबाबाट सुन्तलाको बोक्रा, सुकेको गोबर, सालधूप आदिको नाम पाएपछि ग्याँसको परीक्षणतर्फ लागेका मियाँले भने ‘सालको धूप, खिर्रोको चोप र बाँसको पानीमा सोडा मिसाउँदा तयार भएको ग्याँसले प्रेसर दिंदा बोतल पड्कियो ।’ बोतल पड्किएपछि परीक्षण सफल भएको अनुभव गरेका मियाँले १० दिनको परिश्रमपछि यो विधि खोजेका हुन् ।
यसलाई अझै व्यवस्थित गरेर ग्याँस उत्पादन गर्न सकिने उनले बताए । बाँसको पानी र खिर्रोको चोप नै ग्याँस उत्पादनका लागि चाहिने आवश्यक सामग्री भएको उनले बताए । ‘यो विधिलाई व्यवस्थित गरे गाउँघरमै खाना पकाउने ग्याँस उत्पादन गर्न सकिन्छ’, मियाँले भने ।
– साप्ताहिकबाट
Comments