काठमाडौँ, ७ मङ्सिर । मधेस आन्दोलनले देशमा करिब रु २०० अर्ब बराबरको घाटा लागेको छ । १०० दिनदेखि जारी मधेस आन्दोलन र भारतले लगाएको आर्थिक नाकाबन्दीले नेपालको अर्थतन्त्र नै डगमगाउने गरी घाटा लागेको हो ।
मिडिया इन्टरनेसनलले आयोजना गरेको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नयनबहादुर क्षेत्री र रेमिट्यान्स एसोसियसनका अध्यक्ष देवीप्रसाद भट्टचनले १०० दिनदेखि जारी तराई आन्दोलनले रु २०० अर्ब घाटा लागेको बताउँदै उद्योगलाई सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशलाई आत्मनिर्भरको बाटामा अगाडि लैजानुपर्ने बताए ।
नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारको खुला बजारका कारणले औषधि क्षेत्रमा समस्या उत्पन्न भएको बताए ।
राष्ट्रिय कफी व्यवसाय महासङ्घका अध्यक्ष उत्पादित कफीको कच्चापदार्थको अभावका कारण प्रशोधन गर्न समस्या परेको गुनासो गरे ।  फुटवेयर एसोसियसनका उपाध्यक्ष कृष्णप्रसाद फुयाँलले कच्चापदार्थको अभावले अधिकांश कम्पनी बन्द भएको बताउनुभयो भने नेपाल बोटल वाटर सङ्घका अध्यक्ष सुवास भण्डारीले इन्धन अभावले ५० प्रतिशत पानी उद्योग बन्द भएको जानकारी दिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।