काठमाडौं २० कात्तिक । उत्तरी छिमेकी चीनसँगको सात वटै नाका सञ्चालन गरिने भएको छ । चीन र नेपालको प्रतिनिधिबीच शुक्रबार अध्ययन गरी सात वटै नाका सञ्चालन गर्ने सहमति भएको हो ।
मुख्य व्यापारिक नाका तातोपानी र केरुङलाई सञ्चालनमा ल्याउने तथा त्यस अलावा चीनसँगका बाँकी सात नाका मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर र मुगु भन्सार नाकाको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने सहमति हो ।
राजधानीको एक होटलमा नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनपक्षको तर्फबाट ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाइले चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी नेलामु नाकालाई मर्मत संभार गरी तत्काल संचालन गर्ने सम्बन्धमा दुईदेश बीच सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थहरुको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति,  मिश्रण सामाग्री लगायतका आवश्यक सूचना कम्तीमा  नेपाली वा अंग्रेजीमा लेख्ने व्यवस्था मिलाउन आफ्ना उत्पादनकर्ता, व्यापारीलाई अनुरोध गर्ने सम्बन्धमा पनि चिनियाँ टोली सहमत भएका छन् ।
दक्षिणी छिमेकी भारतले संविधान जारी भएसँगै नाकाबन्दी गरेपछि नेपालले चीनसँगका सबै नाका खुलाउन तत्परता देखाएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।