राजधानीमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा पाइएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको हो ।

यस पटकको हैजा तीन/चार वर्षयताकै ‘कडा’ रहेको विशेषज्ञहरूको दाबी छ ।

अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडापखाला भनिन्छ । पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यो हैजा हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजाको बेलामा उपचार भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

राजधानीमा डेढ दशकयता बर्सेनि वर्षायाममा हैजा देखिँदै आएको छ । टेकु अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या गत शनिबारदेखि बढदो छ । हाल दिनहुँ २५ जनासम्म झाडापखालाका बिरामी भर्ना हुने गरेका छन् ।

‘अस्पताल भर्ना भएका ५ पुरुष र १ महिलामा हैजा देखिएको हो,’ टेकु अस्पतालका डा.राजेश साहले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।