सोलुखुम्बु, १५ साउन । माछापुच्छ्रे सामुदायिक वन उपभोक्ता समूह नेले– ३ सोलुखुम्बुले भूकम्पपीडित उपभोक्तालाई राहत स्वरुप बिरुवा वितरण गरेको छ ।
समूहले भूकम्पपछि पहिरोको जोखिम क्षेत्रमा रोप्ने उद्देस्यसहित प्रतिघरधुरी उपभोक्ता २० बिरुवाका दरले राहत स्वरुप निःशुल्क वितरण गरेको समूहका अध्यक्ष ल्हाक्पा शेर्पाले जानकारी दिए । समूहले उत्पादन गरेका ती बिरुवा सबै उपभोक्ताले आफ्नो जग्गामा रोपेको समूहले जनाएको छ ।
यसैबीच समूहले आव ०७१÷७२ मा बिरुवा बिक्रीबाट रु १४ हजार ३३० आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा आधा हो । गत वर्ष समूहले रु ३० हजार ५५८ आम्दानी गरेको थियो । यस वर्ष भूकम्पका कारण बिरुवा खरिद तथा रोप्ने काम कम भएकाले गत वर्ष प्रतिबोट रु चारका दरले बिक्री गरेको बिरुवा यस वर्ष प्रतिबोट डेढ रुपैयाँका दरले बिक्री गर्नुपरेको अध्यक्ष शेर्पाले बताए ।
यस वर्ष समूहका उपभोक्ताले श्रमदान गरी सामुदायिक वन क्षेत्रमा एक हजार बिरुवा रोपेका छन् ।
Comments