काठमाडौं ९ साउन । नेपाली भूमि लिपुलेकका सम्बन्धमा गरिएको सम्झौताबारे चीन र भारत अहिलेसम्म गल्ती स्वीकार गर्न पनि तयार देखिएका छैनन् । छिमेकी दुवै देशले लिपुलेक सम्झौता त्रिपक्षीय छलफलबाट समाधान गर्न तयार रहेको कुटनीतिक जवाफ मात्रै फर्काउने गरेका छन् । तर, उनीहरु लिपुलेकका विषयमा सम्झौता गर्नु गल्ती भएको स्वीकार गर्न भने तयार देखिएका छैनन् ।
सार्वभौमता माथि नै प्रश्न उठ्ने गरी गरिएको उक्त सम्झौताको नेपालमा जनस्तरबाट चर्को विरोध भईरहँदा दुई देशले गल्ती समेत स्वीकार नगर्नुले चीन भारत लिपुलेक सम्झौता सजिलै सच्याउन तत्पर नदेखिएको विज्ञहरु बताउँछन् ।
सरकारले औपचारिक रुपमा सम्झौता सच्याउन आग्रह गर्न नसक्दा पनि लिपुलेक विवादबारे दुई देशले बेवास्ता गरेको पाइएको छ । लिपुलेक सम्झौता सच्याउन सरकारले औपचारिक रुपमा चीन र भारतसँग आग्रह समेत गरेको छैन । सरकारले अहिलेसम्म विज्ञप्ति समेत जारी गर्न सकेको छैन । यस्तै, दर्जनौं मन्त्रीपरिषदको बैठक बसेपनि नेपाली भूमि मिचिएकोबारे सरकारले एजेण्डा बनाएर छलफल समेत गरेको छैन ।
सरकारले औपचारिक रुपमा दुई देशसँग सम्झौता सच्याउन आग्रह नगरेपनि जनस्तरको कडा विरोध र व्यक्तिगत भेटघाटमा भने दुई देशले विवाद समाधान गर्न आफू तयार रहेको प्रतिक्रिया दिने गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य उपमन्त्री छाङ स्याओछेनले चीन र भारतबीच भएको लिपुलेक सम्झौतासम्बन्धी विवाद त्रिपक्षीय रुपमा हल गर्न आफूहरु तयार रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह प्रधानमन्त्री सुशील कोइरालासँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपमन्त्री छाङले विवादित लिपुलेक सम्झौता चीन, भारत र नेपालबीचको त्रिपक्षीय छलफलबाट हल गर्न चीन तयार कुटनीतिक जवाफ दिए । उपमन्त्री स्याओछेनले नेपाली भूमीबारे सम्झौता गरिएकोमा त्रुटी भएको भनेर एक शब्द समेत बोलेनन् ।  
यसअघि, भारतीय संस्थापनको निमन्त्रणमा भारत भ्रमणमा निस्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भारतीय पक्षले पनि यस्तै जवाफ दिएर फर्काएको थियो । पाँच दिने भ्रमणपछि ४ साउनमा स्वदेश फर्किएका प्रचण्डले 
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकको समस्या प्याकेजमा समाधान गर्न प्रस्ताव राखेको बताएका थिए । भेटवार्तामा प्रचण्डले पटक पटक लिपुलेकका विषयमा कुरा उठाएपछि  प्रधानमन्त्री मोदीले कुटनीतिक जवाफ फर्काएका थिए । 
‘लिपुलेकका विषयमा पहिले पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग कुराकानी भएको थियो, प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, उहाँले चाँडो यस विषयमा समाधान खोज्ने भन्नुभएको थियो । तर, प्रधानमन्त्री मोदीले त्यसरी भन्नुभएन, सीमाको विषय तथा लिपुलेकका समस्या एकैचोटी हल गर्नुपर्छ भन्नुभएको छ ।’ चीनको जस्तै भारतीय पक्षले पनि नेपालभूमिबारे सम्झौता गर्नु गल्ती तथा बेठिक भएको भनेर उल्लेख नै गर्न चाहेको छैन । उसले पनि वार्ता छलफल गरेर समस्या गर्न तयार कुटनीतिक जनाउ मात्रै दिँदै आएको छ ।
नेपालको भूमिबारे चीन र भारत सम्झौता गर्ने अनि उनीहरु नै छलफलबाट विवाद हल गर्न तयार रहेको भन्ने तवरका दुई देशको प्रतिक्रियाप्रति सिमाविद्हरु भने आश्चर्यमा परेको प्रतिक्रिया दिन्छन् । ‘दुई देशले गल्ती स्वीकारे गरेर चीन र भारतले हामी तत्काल विवाद मिलाउँछौं भन्नुपर्ने हो’, एक सिमाविद्ले भने, ‘तर उल्टै उनीहरुकै कुरा ठूला आएका छन्, यो त आश्चर्यलाग्दो छ ।’
यसैबीच, नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले लिपुलेक सम्झौता खारेजीको माग गर्दै शुक्रबार नेपाल बन्द समेत गराएको छ । 
बन्दका कारण शुक्रबार राजधानीसहित प्रमुख शहरी क्षेत्रको जनजीवन प्रभावित बन्यो । नेपालको अभिन्न भूभाग लिपुलेक भञ्याङबाट अन्तरसीमा व्यापार मार्ग खोल्न गरेको  निर्णयबाट नेपालको राष्ट्रिय अखण्डतामाथि प्रहार भएकोले ध्यानाकर्षणका लागि नेपाल बन्द गरेको पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले बताए । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।