काठमाडौं १३ जेठ । गत वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका लगातारका पराकम्पनपछि धेरै मानिस घर छोडेर पालमा आश्रय लिएर बस्नेगरेका कारण उनीहरका घरमा चोरी बढेकाले आफ्नो धनसम्पत्तिको सुरक्षा गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ । 
नयाँबानेश्वर प्रहरी वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले यसबीचमा कालोबजारी गर्ने, राहतका नाममा राजनीति र घोटाला गर्ने प्रवृत्ति बढेकाले आफ्नो छेउछाउमा यस्ता घटना भए तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे । 
पत्रकार बलराम प्यासी तथा सामुदायिक प्रहरी सेवा कोटेश्वरको पहलमा कोटेश्वर र आसपासका २५ जना वृद्धवृद्धा तथा सुत्केरीलाई राहत वितरण कार्यक्रममा प्रहरी नायब उपरीक्षक कार्कीले भूकम्पमा परेरभन्दा पनि भूकम्पबाट भाग्ने क्रममा धेरै मानिस घाइते भएको उल्लेख गर्दै भूकम्प आउँदा घरभित्रै तर सुरक्षित हुने ठाऊँमा बस्न र नभाग्न पनि अुनरोध गरे ।
वरिष्ठ एचआइभी एड्स तथा इन्टरनल मेडिसिन विशेषज्ञ डा पुष्पा भट्टले उपलब्ध गराएको राहत सामग्री प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक सेवा तथा विकास समाज र विश्व हिन्दू महासङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा सामुदायिक प्रहरी सेवा कोटेश्वरको कार्यालयमा बुधबार वितरण गरिएको थियो । रासस 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।