जेठ ३ । विभिन्न तहबाट महाभूकम्पपछि सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग भईरहेको बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेका छन् । सत्तारुढ दलकै नेताबाट सरकारको आलोचना हुनुलाई एमालेले पनि सरकार परिवर्तन गर्न खोजेको देखिएको छ ।
केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले सरकारले राहत वितरणमा सबैलाई समेटेर लानु पर्ने समेत बताए ।
बाइसौं मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार पार्टी कार्यालय मदननगर बल्खु परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारको प्रमुख घटक भए पनि कहाँबाट कति राहत आएको छ कसरी वितरण भइरहेको छ भन्नबारेमा जानकारी नभएको पनि जनाए ।
सत्तारुढ दल तथा विपक्षीबाट सर्वपक्षीय सरकार गठनको मागलाई अध्यक्ष शर्माको आलोचनाले झनै उचाई दिएको छ ।
यसअघि सरकार परिवर्तनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली नजिकिएको जनाइएको थियो ।
महाभूकम्पछि पुनःनिर्माण गर्न सर्वपक्षीय राष्ट्रिय सरकार निर्माणका लागि व्यवस्थापिका संसद बैठकमा नै एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई, एमाले नेताद्धय माधव नेपाल तथा झलनाथ खनाल, कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवा समेतले घुमाउरो तरिकाले माग गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।