काठमाडौँ, २४ चैत । दोलखा र रामेछाप जिल्लाको सीमा गाविस खिम्तीमा आयोजना स्थल रहेको कुल ४८.८ मेगावाट क्षमताको खिम्ती २ जलविद्युत् आयोजना सहकारीको ढाँचामा अगाडि बढ्ने भएको छ ।
सो आयोजना अगाडि बढाउनका लागि ‘पिपल्स हाइड्रो सहकारी संस्था’ नै गठन गरिएको छ । सहकारीका माध्यमबाट अगाडि बढाउन लागिएको सो आयोजना हालसम्मकै ठूलो आयोजना हो । सो आयोजनाको कुल लागत रु सात अर्ब रहेको छ ।
यसअघि गुल्मीको रुपाकोटमा सार्वजनिक निजी सहकारी अवधारणामा निर्माण गरिएको हुग्दी खोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जोडीसकेको छ । पाँच मेगावाट क्षमताको सो आयोजनामा सहकारी संस्थाले रु ७७ करोड लगानी गरेको थियो ।
यस्तै बागलुङमा १० मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना पनि सहकारीले नै अगाडि बढाउन लागेको छ । सो आयोजनामा बागलुङ र गुल्मीका करिब एक हजार ३८० जनाले सामूहिक लगानी गरेका छन् ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पिपिए)का लागि प्रारम्भिक मस्यौदामा हस्ताक्षरसमेत गरिसकेको सहकारी संस्थाका अध्यक्ष कृष्ण आचार्यले बताए । आयोजनाको सर्वेक्षणलगायतका प्राविधिक काम पूरा भएको छ ।
सहकारीमा २९० जना सेयर सदस्य रहेका छन् । आयोजना अगाडि बढाउनका लागि सेयर सदस्य थप गरिने र स्थानीय तथा प्रभावितलाई समेत सहभागी गराइने लक्ष्य लिइएको छ ।
पहुँचमार्ग निर्माण, प्रसारण लाइन सर्वेक्षणलगायतका कामका लागि सेयर सदस्यले नै प्रारम्भिक लगानी गर्नेछन् । त्यसका लागि सुरुमा रु ५० करोड लगानी गरिनेछ । सेयर सदस्यबाट आयोजनाका लागि रु सात करोड ६० लाख १५ हजार सङ्कलन भइसकेको छ ।
यस्तै सरकारले म्यादी जिल्लामा आयोजना स्थल रहेको २५ मेगावाट क्षमताको दरबाङखोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिएको छ । धौलागिरि कालिका हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजनाको प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको छ ।
कुल लागत रु चार अर्ब रहनेछ । सरकारले हालसम्म कुल ८६ वटा जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । सो अनुमतिपत्र दिइएका आयोजनाबाट दुई हजार ९६ मेगावाट विद्युत् उत्पादन हुनेछ । रासस
Comments