२३ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा माओवादीलाई संविधानसभा घाँडो भएको बताएका छन् । 
एमाले बागलुङले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले एमाओवादी संविधानसभा भङ्ग भए होस् भन्ने पक्षमा रहेको आरोप लगाए ।  संविधान नचाहने र संविधानसभाकै विरोध गर्ने शक्तिसँग मिलेर मोर्चाबन्दी गर्नाले एमाओवादीको नियत स्पष्ट पारेको टिप्पणी गर्दै नेता पोखरेलले भने, “‘एमाओवादीले आफूले चाहेजस्तो संविधान ल्याउन खोजेको थियो, तर त्यो सम्भव थिएन र कहिले पनि हुँदैन ।” 
जनादेशअनुसार अहिलेकै संविधानसभाले नयाँ संविधान दिने जिकिर गर्दै उनले संविधान निर्माणका लागि शतप्रतिशत सहमति हुनै सक्दैन भने । 
संविधान सहमतिको नभएर सम्झौताको दस्तावेज भएको भन्दै उनले संविधानसभामा भएका शक्तिबीचको सम्झौताका आधारमा संविधान जारी हुने बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।