विहान बेलुका फुर्सदको समयमा आमालाई अक्षर चिन्न सिकाउँछु । आमा पनि खुसी भएर अक्षर चिन्न थालेकी छन् उनले भनिन् सरहरुले निरक्षरलाई साक्षर बनाए शिक्षा र स्वास्थ्य जनसंख्या तथा बातावरण विषयमा २० नम्वर अंक दिने भन्नु भएको छ ।
विद्यालका प्रधानाध्यापक नविन के.सीले ९ कक्षाका गएर घरमा निरक्षर हुने विद्यार्थीलाई हात उठाउन लगाएपछि शुरुमा लाजले हात नउठाएकी कमलाले सवै कुरा बुझेपछि मात्र आफ्नी आमालाई साक्षर बनाउन सहमत भएकी हुन । आमा कली खड्का पनिछोरीले सिकाउन थालेपछि फुरुङ्ग हुदै अक्षर चिन्न र लेख्न थालेकी छन् । ६१ बर्षिया कलीले सानो उमेरमा पढ्न नपाएकोमा पछुतो लागेको बताउँदै भनिन बुढेसकालमै भएपनि अक्षर चिनेरै छाड्नेछु ।
कमला मात्र होईन उनी जस्तै ९ कक्षामा अध्ययनरत धेरै विद्यार्थीले निरक्षरता उन्मुलन अभियानलाई साथ दिएका छन् । सरकारले सन् २०१५ लाई निरक्षरता उन्मुलन बर्ष घोषणा गरेर साक्षर नेपाल अभियान सञ्चालन गरिरहेको छ । गत बर्ष सघन साक्षरता कार्यक्रमबाट छुटेका निरक्षरलाई खोजेर तथा अध्याबधिक गरेर यस बर्ष जाजरकोटका २६ गाँउविकास समितिका ४ हजार २ सय १५ निरक्षरलाई आगामी फागुन भित्र साक्षर बनाउने लक्ष्यका साथ कक्षा ९ का विद्यार्थीहरु परिचालन गरिएको जिल्ला शिक्षा कार्यालय जाजरकोटका विद्यालय निरीक्षक मानबहादुर गिरीले बताए ।
पुस देखी शुरु भएको साक्षरता शिक्षा कार्यक्रम फागुनमा सकिनेछ । जिल्लाका झाप्रा, पजारु, दशेरा, र रामीडाँडा गत बर्ष नै पुर्ण साक्षर गाविस घोषणा भैसकेका छन् । बाँकी गाविसमा यस बर्ष ९ कक्षाका विद्यार्थी परिचालन गरेर निरक्षरलाई साक्षर बनाईने कार्यक्रम रहेको विद्यालय निरीक्षक गिरीले बताए ।
साक्षर बनाए वापत विद्यार्थीलाई शिक्षा र जनसंख्या तथा बातावरण विषयमा १०÷१० प्रयोगात्मक अंक दिने ब्यवस्था मिलाईको छ । स्टेशनरी र पाठ्यपुस्तक विद्यालय मार्फत सम्वन्धित निरक्षरलाई प्रदान गरिएको छ । आफ्नो घरमा निरक्षर नहुने विद्यार्थीले छिमेकी वा अन्य निरक्षरलाई पनि साक्षर बनाउन सक्नेछन् ।
प्रति निरक्षर ४० रुपैयाका दरले अनुगमन खर्च वापत विद्याललाई एकमुष्ट रकम उपलब्ध गराईने र विद्यालयका शिक्षकले विद्यार्थीले पढाए नपढाएको अनुगमन गर्ने ब्यवस्था मिलाईएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यसैविच हालै बसेको कार्यालय प्रमुखहरुको बैठकले सरकारी कर्मचारीको घरमा निरक्षर भए फागुन भित्र अनिवार्य रुपमा साक्षर बनाउन सवै कर्मचारीहरुलाई निर्देशन दिने निर्णय गरिएको छ । निरक्षरतामुक्त राष्ट बनाउने देशब्यापी अभियानमा निजामति कर्मचारी शिक्षक सुरक्षाकर्मी सवैको उत्तिकै दायित्व र जिम्मेवारी भएकोले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए ।