पुस ३० । सत्तारुढ प्रमुख दुई दल कांग्रेस एमालेले एमाओवादीलाई पेलेरै जाने निचोड निकालेका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको संयुक्त बैठकले संवैधानिक समितिको प्रतिवेदनलाई फास्ट ट्रयाकबाट पारित गराएर माघ ८ गतेभित्रै मस्यौदा तयार गर्ने निष्कर्ष निकालेका छन् ।
प्रश्नावली बनाएर अघि बढ्दा थप समय लाग्ने भएकोले प्राप्त प्रतिवेदनलाई केही दिन संविधानसभामै छलफल गराएर त्यसलाई प्रक्रियामा लैजाने र पारित गरेर मस्यौदा निर्माणका लागि सिधै मस्यौदा समितिमा पठाउने गरी प्रक्रिया तयार गर्न सभामुखसँग छलफल गर्ने निर्णय कांग्रेस एमालेले गरेका छन् ।
कांग्रेस एमाले जसरी पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने अडानमा छन् भने एमाओवादीसहित मधेसी मोर्चा भने सहमतिको आधारमा मात्रै संविधान जारी गर्नुपर्ने माग राख्दै आएका छन् ।
दलहरुबीच मुख्य विवादित विषयमा सहमति जुट्न नसक्दा अबको बाटो भने अन्यौल देखिएको छ । एमाओवादीसहित विपक्षी दलले नेपाल बन्दसम्मका आन्दोलन घोषणा गरिसकेका छन् भने सरकारी दलले भने दुई तिहाईबाट भए पनि संविधान जारी गर्नुपर्ने भन्दै प्रक्रिया बारे छलफल थालेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।