कृष्ण किसी
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घट्ने एकदुई दिनअघिदेखि नै पम्पमा पेट्रोल पाइँदैन। मूल्य घट्ने निश्चित भएपछि पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको इन्धन डिपो थानकोटबाट खरिद गर्ने पेट्रोलको मात्रा आधाआधीले घट्छ।
नेपाल आयल निगमको तथ्यांकअनुसार सामान्य दिनमा काठमाडौं उपत्यकामा सरदर दैनिक तीन लाख लिटर पेट्रोल र त्यति नै परिमाणमा डिजेल बिक्री हुने गरेको छ तर यो मात्रा मूल्य घट्ने दिन आसपास घटेर दैनिक दुईदुई लाख लिटर र घटिसकेपछि बढेर फेरि चारचार लाख पुग्ने गरेको छ।
पछिल्लो पटक पुस ४ गते शुक्रबार मूल्य घटेको थियो। मूल्य घट्ने निश्चित भएपछि यो क्रम पुस १ गतेदेखि नै घट्दो थियो।
पुस १ गते दुई लाख २४ हजार पेट्रोल र दुई लाख २० हजार लिटर डिजेल मात्रै नेपाल आयल निगम इन्धन डिपो थानकोट काठमाडौंबाट बिक्री भएको तथ्यांक छ। पुस १ गते अर्थात् डिसेम्बर १ तारेखमा पनि मूल्य नघटेपछि व्यापारीबाट पेट्रोल खरिद गर्ने क्रम उही मात्रामा कम हुँदै गएको छ।
पुस २ गते यो मात्रा अझ घटेर एक लाख ८८ हजार पेट्रोल र दुई लाख ५४ हजार लिटर डिजेल मात्रै खरिद गरिएको थियो। पुस २ गते मूल्य घट्नुपर्ने मितिमा पनि नघटी घट्ने मिति निश्चित नभएपछि भने खरिद गर्ने क्रम केही बढेको पाइयो।
पुस ३ गते तीन लाख २३ हजार पेट्रोल र चार लाख ६३ हजार डिजेल खरिद गरियो। तर, यो मात्रा मूल्य घटिसकेपछि एकैपटक बढ्यो। मूल्य घटिसकेपछि पुस ४ गते त्यो बढेर पेट्रोल चार लाख ५७ हजार र डिजेल पाँच लाख ६९ हजार लिटर खरिद भयो।
मूल्य घटेपछि यो क्रम अझ बढेर पेट्रोल पाँच लाख ८६ हजार र डिजेल सात लाख ५४ हजार लिटर बिक्री भयो। साथै ७ गते सोमबार चार लाख ३६ हजार पेट्रोल र पाँच लाख ७६ हजार डिलेज खरिद गरियो।
मूल्य घटिसकेपछि खरिद क्रम बढेर अहिले अभावसमेत छ। माग बढ्दो रहँदा आयल निगमले मागअनुसार पेट्रोल बिक्री गर्न सकिरहेको छैन। पेट्रोल नपाउँदा उपत्यकाका केही पम्प अझैसम्म बन्दै छन्।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका महासचिव विश्व अर्यालले बिक्री घटेपछि खरिद घट्नु र बढेपछि खरिद बढ्नु सामान्य भएको बताए। ‘यो व्यापारको सामान्य कुरा हो,’ महासचिव अर्यालले भने, ‘हामीले मात्रै होइन, सबैले यसो गरिहाल्छन्।’
मूल्य घट्नु र खरिद बढ्नुबीचको मारमा उपभोक्ता पर्ने गरेका छन्। मूल्य घट्ने निश्चित भए पनि उपभोक्ता महँगो बेलामै पेट्रोल राख्न बाध्य हुन्छन्। किनकि पेट्रोल घट्नुअगाडिको एकदुई दिनदेखि नै पेट्रोल पम्प बन्द हुन थाल्छन् र घटेको एकदुई दिनपछि मात्रै पम्प खुल्छन्।
पम्प व्यवसायीले घट्ने समयमा स्टक भएसम्म बेचेर घटेपछि मात्रै नयाँ पेट्रोल डिपोबाट खरिद गर्छन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन जुनसुकै बहानामा पनि उपभोक्ता मारमा पर्न नहुने तर्क राख्छन्।
नेपाल आयल निगमका प्रबन्धनिर्देशक चण्डिकाप्रसाद भट्टले निश्चित मितिमा मूल्य समायोजन भएपछि समस्या समाधान हुने बताए। निगमले प्रत्येक महिना १ र १५ तारेखमा मूल्य समायोजन गर्ने भनिए पनि यो मितिमा मूल्य समायोजन हुन सकेको छैन।
प्रबन्धनिर्देशक भट्टले अबका दिनमा निर्धारित समयमै मूल्य समायोजन गरिने विश्वास दिलाए। उनले भने, ‘अनुगमनलाई प्रभावकारी बनाई समस्या समाधान गरिनेछ।’ – साभार : अन्नपूर्णपोष्ट