इलाम, २ पुस । उपचार गराउन आर्थिक अभाव भएपछि इलामका राम राई र तेजबहादुर राई शरीरमा गोलीका छर्रा बोकेर हिँडिरहेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् । रामको दुवै खुट्टामा गोली छ भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ ।

“उपचारका लागि धेरैतिर धायौँ तर उपचार हुन सकेन्”, रामले भने । “चिसोमा र पानीमा भिज्दै हिँड्यो भने पनि शरीर दुख्छ, हिँड्न पनि सकिँदैन”–तेजबहादुरले आफ्नो व्यथा यसरी पोख्नुभयो । ठूल्ठूला अस्पताल गएर उपचार गर्न पनि सकिएन । तेजबहादुरको खुट्टामा सेनाले हानेको एलएमजीको गोली लागेको छ ।

स्वदेशमा उपचार सम्भव नभएपछि विदेशमा गएर उपचार गराउन आर्थिक अभाव भएको हो । स्वदेशमा उपचार गराउँदा ज्यान नै जोखिममा पर्ने भएको उनीहरू बताउँछन् । “विदेश जाउँभन्दा पैसा छैन्, उपचार नगराउँदा पीडादायी जीवन बिताउनुपर्ने अवस्था छ”, दुखेसो पोख्दै रामले भने ।

आर्थिक अवस्थासमेत कमजोर भएकाले उपचार गर्न नसकेको रामले बताए । एनेकपा (माओवादी) पार्टी नेतृत्व तहमा हुँदा पनि आफूहरूको उपचारमा सहयोग नभएको उनीहरूको गुनासो छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।