मंसिर ८ । विद्यार्थीमा देखा परेको अज्ञात रोग नियन्त्रणमा नआएपछि खोटाङको विजयखर्क–१ मालास्थित पञ्चकन्या उच्च मावि पुनः एक हप्ताको लागि बन्द गरिएको छ ।
कक्षा कोठामा पढिरहेका विद्यार्थीमा एक्कासी रुने, कराउने र बेहोस भएर ढल्ने समस्या देखिएपछि आगामी मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
गत बुधबार एकैसाथ सात जना विद्यार्थी बेहोस बनेर ढलेपछि आइतबारसम्मका लागि बन्द गरिएको विद्यालय सोमबारबाट सञ्चालनमा ल्याइएको थियो । विद्यालय सञ्चालनमा आउनासाथ पुनः सोमबार आठ जना विद्यार्थी बेहोस बनेपछि हप्ता दिनको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक प्रेमकुमार श्रेष्ठले बताए । उनले भने, ‘दैनिकजसो बिरामी हुने विद्यार्थी बढ्दै गएकाले थप अन्य विद्यार्थीमा सर्न नदिन विद्यालय बन्द गरेका हौं ।’
विद्यालयका अनुसार सोमबार थप कक्षा–७ की मिना कार्की बेहोस बनेर ढलेकी छन् भने, गत बुधबार बिरामी हुने विद्यार्थीमा पुनः सोही लक्षण देखिएको छ । गत बुधबार कक्षा–९ मा अध्ययनरत छात्रा भुमा भट्टराई र दीपा कार्की, कक्षा–८ की एलिना कार्की, कक्षा–८ कै छात्र उमेश कार्की, कक्षा–७ की ईन्दिरा भट्टराई र कक्षा–६ की नमिता खत्री बेहोस बनेर ढलेको थियो ।
विद्यालय बन्द गरिएपछि सो विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थी पठन–पाठनबाट वञ्चित भएका छन् ।
Comments