मंसिर २ । अब सार्क सदस्य मुलुकमा एक देशका जनता अर्को देशमा आफ्नै गाडी लिएर जान सक्ने भएका छन्।
सार्क शिखर सम्मेलनमा क्षेत्रीय स्तरमा यातायात आवतजावतसम्बन्धी सम्झौता भएपछि सवारीसाधन लिएर अन्तर्राष्ट्रिय सीमा पार गर्दा अहिले बेहोरिरहनुपरेको झन्झट सकिनेछ।
शिखर सम्मेलनमा सम्झौताका लागि तय भएका ऊर्जा, रेल्वे तथा युवासम्बन्धी घोषणापत्रको तुलनामा सर्वाधिक महत्त्वको र तत्काल लागू हुन सक्ने ठानिएको यो सम्झौताको मस्यौदामा आठै सदस्य देशका प्रतिनिधिले सहमति जनाइसकेका् अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
उक्त सहमतिलाई शिखर सम्मेलनमा बस्ने उच्चस्तरीय बैठकले पारित गरेमा सार्क राष्ट्रका अधिकांश जनताले प्रत्यक्ष लाभ लिन सक्नेछन्, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
सम्झौतापछि अनुमति लिएर एक देशको सवारीसाधन अर्को देशमा लैजान सकिन्छ। अहिले पनि नेपाल, भारतलगायतका केही देशबीच दुईपक्षीय रूपमा यस्तो अभ्यास छ। तर प्रक्रिया झन्झटिलो छ। अहिले भारतीय सवारीसाधन नेपाल आउन चाहेमा सीमा नाकामा रहेको प्रशासनबाट अनुमति लिनुपर्छ। त्यस्तै नेपाली सवारीसाधन भारत जान काठमाडौंस्थित भारतीय दूतावासबाट अनुमतिपत्र लिनुपर्छ।
Comments