काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक सुशील कोइरालाले मुलुकमा लोकतन्त्रले स्थायित्व पाएसँगै हरेक क्षेत्रले विकासको सुनिश्चितता प्राप्त गर्ने बताएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सातौँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र विकासका लागि सरकारले संविधानलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
तोकिएकै समय माघ ८ गतेभित्र संविधान ल्याइने छ, संविधान ल्याउनमा आफूहरू सफल हुनेछाँै, त्यसका लागि सबैले सकारात्मक दृष्टिकोण राख्न आवश्यक छ, पत्रकारबाट पनि दलहरूबीच झगडा फैलाउने काम नहोस्– प्रधानमन्त्री कोइरालाले भने ।
प्रधानमन्त्री कोइरालाले भने, “समाजका प्रत्येक क्षेत्रमा अभाव नै अभाव रहेको समयमा प्राज्ञहरूको योगदानबाट नेपालको कला र संस्कृतिको रक्षा गर्ने कार्यमा ठूलो उपलब्धि हासिल भएको छ ।”
लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई संस्थागत गर्न नसकिएकै कारण आधा शताब्दीभन्दा लामो समयदेखि लोकतन्त्रको गाथाले पूर्णता पाउन नसकेको तथा सङ्घर्ष र आन्दोलनमै समय खर्चनुपरेको प्रधानमन्त्री कोइरालाले उल्लेख गरे ।
Comments