रोल्पा, २६ कात्तिक । चारदिने जिल्ला भ्रमणका लागि भन्दै सोमबार जनयुद्धको उद्गम्स्थल मानिएको रोल्पा प्रवेश गरेका नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न ऐतिहासिक गाउँघरमा पुगी भेटघाटलाई तीव्रता दिएका छन् ।
डाँडागाउँस्थित पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को घरमा रात बिताएका दाहाल आज रासीमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
रासीको कार्यक्रम पश्चात् दाहालसहितको टोली आजै नेता वर्षमान पुनको गाउँ जङ्कोट माडिचौरमा बास बसी भोलि बिहान सदरमुकाम लिबाङ आउने बताइएको छ ।
यसअघि, माओवादीले युद्ध घोषणा गरेको रोल्पाको होलेरीबाट सोमबार भ्रमण आरम्भ गरेका दाहालले जनयुद्धकालमा आफू बसेको पाखापखेरा तथा युद्धकालीन ऐतिहासिक स्थानमा पुग्दै औपचारिक र अनौपचारिक भलाकुसारी गर्दै हिँडेका थिए ।
भ्रमणका क्रममा मङ्गलबार बिहान होलेरीका स्थानीय जनतासँग भेटघाट गरेलगत्तै नुवागाउँ र गैरीगाउँको टिलाका जनतासँग भेटघाट गर्दै युद्धकालीन अवस्थामा पार्टीको हेडक्वार्टर राखिएको घर्तीगाउँ, लोसेबाङलगायतका विभिन्न स्थानमा स्थानीयसँग भेटघाट गरे । भ्रमणका क्रममा विभिन्न गाउँका रोल्पाली जनतालाई भेट्दै आफूले रोल्पाली जनता र यहाँको भूमिलाई कहिल्यै नभुलेको बताउँदै यहाँका जनताको बलिदानलाई खेर जान नदिने आश्वासन दिएका थिए ।
आफू रोल्पाली जनताको मनोेभाव बुझ्न आएको बताउँदै रोल्पाली जनता र जनयुद्धकालका घाइते अपाङ्ग तथा सहिद परिवारको सपना कहिल्यै नभुल्ने बताए ।
मङ्गलबार रासीको डाँडागाउँ पुग्नुभएका दाहालले रासीमा जनयुद्धकालीन समयमा आफू बसेको घर तथा सुरक्षाका लागि बनाइएका बंकरको अवलोकन गरेका थिए ।
Comments