जनकपुर, २४ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन आगामी ९ गते जनकपुरको बाटो हुँदै राजधानी जाने भएपछि अहिले जनकपुरको मठ मन्दिरलाई सिँगारिने कार्य तीव्र पारिएको छ ।
जनकपुरको प्रसिद्ध जानकी मन्दिरको सफाइसँगै पुराना संरचनालाई भत्काएर नयाँ बनाउने कार्य गरिएको छ ।
जनकपुर–भिट्ठामोड सडकखण्ड हुँदै मोदी जनकपुर आउने कार्यक्रम रहेको छ । सोही आधारमा अहिले जनकपुरको विभिन्न बाटोहरू मर्मत गर्नुका साथै मुख्य मन्दिरहरूलाई रङ्ग रोगन गरिएको छ ।
जानकी मन्दिर, राम मन्दिर जनक मन्दिरलगायतका मठ मन्दिरको सफाइ र रङ्गिने कार्य भइरहेको छ ।
भारतीय सुरक्षा स्रोतका अनुसार मोदी हेलिकप्टरबाट सुरसण्डमा उत्रिने छन् । त्यसको लागि त्यहाँ हेलिप्याड निर्माण गरिएको छ । त्यहाँबाट स्थल मार्गबाट जनकपुर आउने कार्यक्रम रहेको छ ।
मोदी जनकपुरमा आउने र जनकपुरमा पूजापाठसँगै केही योजनाहरूको शिलान्यास गर्नेसमेत कार्यक्रम रहेको छ ।
Comments