काठमाडौँ, १६ कात्तिक । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएको छ । 
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले सहमतिबिना कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाली काँग्रेस र नेकपा एमाले सँग पुनः आग्रह गरेको छ । 
सहमतिको प्रक्रियाभन्दा बाहिर गएर गणितीय प्रक्रिया अवलम्बन गरिए त्यो आफूहरूलाई सह्य नहुने चेतावनीसमेत मोर्चाले दिएको छ । 
बैठकमा पछिल्ला दिन प्रमुख तीन दलबीच भएका वार्ता तथा संवादको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । 
काँग्रेस र एमालेले राज्य पुनःसंरचनाको सन्दर्भमा छ प्रदेशभन्दा माथि जान नसक्ने अडान राखिरहेका बेला मोर्चाले विगतको राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगले गरेको सिफारिसका आधारमा नै उक्त प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 
यस्तै संवैधानिक–राजनीतिक संवाद समितिले शनिबारको बैठकले विवादित विषयमा दलका आ–आफ्ना अडानसहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय गरेको थियो । 
मोर्चाको बैठकले सहमति नभए प्रक्रियामा जान पनि सहमति चाहिनेमा जोड दिएको सहअध्यक्ष कर्णले जानकारी दिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।