काठमाडौँ, १३ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आज संविधानसभाको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग संविधान निर्माणका विविध पक्षबारे छलफल गरेको छ ।
समितिको कार्यालय सिंहदरबारमा आज भएको अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
उनले आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका बारेमा परामर्श गरेका छन् ।
संवाद समितिको असोज ११ गते बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षसँग अनौपचारिक कुराकानी गर्ने र १४ गते औपचारिक बैठक राख्ने निर्णय गरेअनुसार नै सभापति भट्टराईले अनौपचारिक छलफललाई निरन्तरता दिएका हुन् ।
छलफलपछि सभापति भट्टराईले भने, “उनीहरुसँग संविधानका विवाद टुङ्ग्याउन बाँकी रहेका विषयको निरुपण कसरी गर्ने भन्ने विषय र अर्कोचाहिँ हामी आफैँले निर्धारण गरेको समयसीमा पटक–पटक पालना गर्न नसक्दा जुन खालको परिस्थिति सिर्जना भएको छ त्यसलाई कसरी सम्हाल्नु उपयुक्त होला भनेर परामर्श गरेँ । उहाँहरुले महत्वपूर्ण सुझाव दिनुभएको छ ।”
उनले आजै अन्य पक्षसँग पनि व्यक्तिगत र सामूहिक रुपमा छलफल गर्ने जनाइएको छ । आजै हुने प्रमुख तीन दलबीचको छलफलपछि शुक्रबार बस्ने संवाद समितिको बैठकले औपचारिक निर्णय गर्ने सभापति भट्टराईले जानकारी दिए ।
संवाद समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्दैछ ।
छलफलपछि बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू धर्म सापेक्ष राज्य र गणतन्त्रको विषयमा पनि जनतामा जान पाउनुपर्ने धारणा राखेको बताए ।
छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने सङ्घीयताले नै संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारोमा पारेकाले उक्त विषयलाई थातीमा राख्नुपर्ने धारणा राखेका थिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।