सिरहा ३० असोज । भारतबाट लहान आएर लुटपाट गर्दै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 
लुटपाटमा संलग्न भारत मधुवनी तहसिल नानपरा तिरङ्ग युपी बस्ने २० वर्षीया जैमुल खातुनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । लहान नपा–७ स्थित दुर्गा मन्दिरमा जगतपुर–१ का प्रेमलाल यादवको गोजीबाट रु चार हजार २०० लुटेर भाग्न खोज्दा खातुनलाई असोज २४ गते रङ्गेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकी खातुनले आफूले नै गत भदौ २७ गते लहान–७ स्थित महालक्ष्मी ज्वेलर्स सुन पसलमा गहना खरिद गर्न पुगेका जगतपुर मझौरा–२ का राजेन्द्र ठाकुरको पाइन्टबाट नगद रु २५ हजार लुटेको स्विकारिन् ।
“पक्राउ परेकी खातुनले लहान–३ स्थित नेपाल लजमा बस्दै आएकी थिइन्,” प्रहरी निरीक्षक निरौलाले भने “यहाँ बसेर लुटपाट गर्ने र केही रकम जम्मा भएपछि पुनः घर फर्किने गरेको अनुसन्धानबाट खुलेको छ ।”
लजबाट खातुनकी श्रीमान्लाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको र लुटपाटमा उनको कुनै संलग्नता नदेखिएपछि छाडेको उनले बताए । उनका अनुसार श्रीमान्लाई थाहै नदिई खातुनले लुटपाट गर्दै आएको थियो ।
पत्रकार सम्मेलनमा पक्राउ परेकी खातुनले भनिन्, “श्रीमान्को कुटाईबाट मेरो गर्भ तुहियो । रगत बग्न थालेपछि उपचार गराउन रुपैयाँ थिएन । त्यही भएर चोरी गरेर उपचार गराएँ ।” बिहे नभएकै बेला पनि लहान हटियाबाट एकजनाबाट रु पाँच हजार लुटेको उनले बताइन् ।
पक्राउ परेकी महिलाविरुद्ध चोरीसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।