सोल, २३ पुस 
उत्तर र दक्षिण कोरियाबीच हुन लागेकोे उच्चस्तरीय वार्ताको अन्तिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाले आफ्नो देशका तर्फबाट वार्ता गर्न सोल जाने टोलीका सदस्यको नाम आइतबार दक्षिण कोरियालाई पठाएपछि वार्ताको तयारी अन्तिम चरणमा पुगेको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । 

आइतबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ताले वार्ताका लागि दक्षिण कोरियाले अन्तिम तयारी जारी राखेको बताएको समाचारमा जनाइएको छ । 
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो वार्तामा सहभागी हुने उत्तर कोरियाली अधिकारीको नाम पठाएको बताएको छ । 
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तयारी छ । वार्ताका लागि दक्षिण कोरियाले आवश्यक सबै तयारी गरेको र त्यो अन्तिम चरणमा पुगेको पनि सो मन्त्रालयले जनाएको छ । 
नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि उक्त उच्चस्तरीय द्विपक्षीय वार्ताको वातावरण निर्माण भएको हो । 
साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलको पनि तयारी जारी रहेको सो मन्त्रालयले जानकारी दिएको हो । 
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनपछि नै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएको थियो । 
दुई वर्षपछि पहिलो पटक हुन लागेको यो उच्चस्तरीय वार्ताका लागि शनिबार दक्षिण कोरिया र आइतबार उत्तरले वार्तामा सहभागी सदस्यहरूको सूची आपसमा सार्वजनिक गरेका हुन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।