काठमाडौँ, २९ साउन । उपराष्ट्रपति परमानन्द झाले नेपाल – पाकिस्तानको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै व्यापार विस्तार र पर्यटन प्रवद्र्धनका लागि दुवै मुलुकबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानको ६८ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

पारस्परिक समझदारीमा आधारित दुई देशबीचको मैत्री समय–समयमा हुने सरकारी र जनस्तरका भ्रमण आदानप्रदानबाट अझ प्रगाढ बन्दै गएको बताउँदै उनले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा दुवै मुलुक लाग्नुपर्ने आवश्यकता औंल्याए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक सदस्य नेपाल र पाकिस्तान दुवै देशका जनताको बृहत् हितका साथै अन्तर्राष्ट्रिय शान्ति र समझदारी प्रवद्र्धन गर्ने दिशामा सधै ऐक्यबद्धताका साथ लागेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जवराले सार्क परिवारको विकास, आसियानले हासिल गरेझै हुननसकेको भन्दै निकटतम सम्पर्क र सम्बन्ध विस्तारका धेरै संभावना रहेकाले पारस्परिक सम्बन्धलाई अझ मजबुत तुल्याउनुपर्ने विचार व्यक्त गरे ।

पूर्व उपप्रधानमन्त्री  भरतमोहन अधिकारीले नेपाल पाकिस्तान सम्बन्ध अत्यन्त सुमधुर रहेकोे चर्चा गर्दै पाकिस्तानी नागरिकमा नेपाल र नेपालीप्रति अगाध स्नेह रहेको बताए ।

अर्का पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाल– पाकिस्तान मैत्रीका विविध पक्षबारे चर्चा गर्दै पाकिस्तानले नेपालको शैक्षिक उन्नयनका साथै यहाँको सामाजिक आर्थिक विकासमा गरेको सहयोग प्रति आभार प्रकट गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।