काठमाडौं, १९ साउन । नेपालको दुई दिने मैत्रीपूर्ण भ्रमण पूरा गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।
सोमबार साँझ ५:३५ बजे उहाँ भारतीय वायुसेनाको विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् । मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री सुशील कोइरालाले विदाइ गरे ।
भारतीय प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी अर्पण गरेको थियो ।
विदाईका अवसरमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपति मन्दिरको प्रतिमा उपहार प्रदान गरेका थिए ।
उनलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, सवारी एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य, मुख्यसचिव लिलामणि पौडेल, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।
सत्र वर्षपछि यस पटक सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको अनुभव गरिएको छ । प्रधानमन्त्री मोदी आगामी नोभेम्बरमा काठमाडौंमा आयोजना हुने सार्क शिखर सम्मेलनमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पुनः यहाँ आउने कार्यक्रम छ ।
दिनभर भेटघाटमा
प्रधानमन्त्री मोदीले सोमबार पशुपतिनाथको विशेष पुजा गरेका थिए । त्यसपछि उनले राष्ट्रपति डा. रावरण यादव, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका साथै मधेसवादी नेता तथा उद्योगी व्यवसायीसँग भेटघाट गरेका थिए ।
भ्रमण उपलब्धिपूर्ण, नेपाल–भारत सम्बन्धमा नयाँ आयाम
भारतीय प्रधानमन्त्री मोदीको दुई दिने मैत्रीपूर्ण नेपाल भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको र यसले नयाँ उचाई लिएको भारतले जनाएको छ ।
नेपालका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदीले आइतबार र सोमबार गर्नुभएको दुई दिने भ्रमणको अन्तिम दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा भारतले यो भ्रमणबाट दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिएको हो ।
खासगरी भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसदमा दिएको ओजपूर्ण मन्तव्य, उच्च राजनीतिक तहमा भएको कुराकानी, सहमति एवम् सहयोग आदानप्रदान, राजनीतिक दलहरुलगायत विभिन्न क्षेत्रका व्यक्तित्वसँग भएको भेटका आधारमा यो भ्रमण उपलब्धी रहेको भारतको टिप्पणी रहेको छ ।
उनले प्रधानमन्त्री मोदीको उक्त सम्बोधनले आफूहरुको मन छोएको, आफ्नो मनको कुरा बोलेको तथा यी कुरा नेपालीले लामो समयसम्म स्मरण गरिरहने भन्ने प्रतिक्रिया नेपालीहरुबाट पाएको पनि उल्लेख गरे ।
एक प्रश्नको उत्तरमा प्रवक्ता सैयद अक्वरुद्धिनले सन् १९५० को नेपाल – भारत सन्धिका सम्बन्धमा प्रधानमन्त्री मोदीले यो सँग सम्बन्धित कुरामा नेपालले केही अप्ठ्यारो अनुभव गरेको भए त्यसबारे उचित प्रस्ताव ल्याए भारत खुल्ला रुपमा कुरा गर्न सदैव तयार छ भनेर हिजो आयोजित रात्रिभोजमा आफ्नो धारणा राखेको बताए ।
विद्युत उत्पादनमा ढिलाइ गर्न नुहुने
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले बजार र पुँजी सुनिश्चित भएको वस्तु उत्पादनमा ढिलाइ गर्न नहुने बताएका छन् ।
मिडिया इन्टरनेसनलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसद्को बैठकमा विद्युत्को उत्पादन र खरिद दुवै भारतले गरिदिने बताएका थिए ।
दैनिक करिब १८ घन्टा विद्युत्भार कटौती हुने र सरकारबाट इजाजत खारेज गरिदिएकाहरुबाट विद्युत्को बजार नभएको चर्चा चलाइँदैआएकामा मोदीको उक्त भनाइले विद्युत् विकासमा नयाँ गतिशीलता थपिएको धारणा उनले व्यक्त गरे ।
भारतीय प्रमको भ्रमण नेपाल भारतबीचको सम्बन्ध नयाँ उचाइमा
नेपाली काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने औपचारिक भ्रमण नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ऐतिहासिक रुपमा सफल भएको जनाएको छ ।
परिवर्तित सन्दर्भमा भारतीय प्रधानमन्त्रीको भ्रमणले दुई देशको बीचको शदिऔँ सुमधुर सम्बन्धलाई नयाँ ढङ्गले नयाँ उचाइमा पु¥याएको नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले बताए ।
काँग्रेसका पदाधिकारीले आज भारतीय प्रधानमन्त्रीलाई उनी रहेको होटल हयातमा भेटघाट गरेपछि महामन्त्री सिटौलाले भने “भारतीय प्रधानमन्त्रीले व्यवस्थापिका–संसद् र रात्रिभोजमा दिनुभएको सम्बोधनले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने काम गरेको छ ।”
Comments