काठमाडौँ, १५ साउन । पर्सा जिल्लामा झोले विद्यालय खडा गरी भ्रष्टाचार गर्ने जिल्ला शिक्षा कार्यालयका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले हुँदै नभएका विद्यालय खडा गरी आव २०६४÷०६५ देखि २०६९÷०७० सम्म विभिन्न शीर्षकमा निकासा गरी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा जिशिका पर्साका तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झा, कामु जिशिअ रामविनयकुमार सिंह र केदार तिवारी, निमित्त जिशिअ सुरेशप्रसाद सिंह, स्रोत व्यक्ति इन्द्रजित श्रीवास्तव, इन्जिनियर ननवीकुमार सिंह, प्रधानाध्यापक जितेन्द्र यादव र गगनदेव यादव, निर्माण समितिका अध्यक्ष पन्नालाल यादव र अस्थायी शिक्षक रामकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उजुरीका आधारमा छानबिन गरेको आयोगले निजहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, १२ र १७ बमोजिम कसुर गरेका आधारमा रु ८७ लाख ७३ हजार आठ सय ३३ बिगो कायम गरी आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घुस लिँदालिँदै पक्राउ
आयोगले आज घुस लिँदालिँदै सहरी विकास भवन निर्माण विभागको विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाका कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।
आयोजनाका प्रमुख कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठले सेवाग्राहीसँग नियमानुसार काम गरिदिएबापत रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको विशेष टोलीले निजहरुलाई घुसबापत लिएको रु ४० हजारसहित पक्राउ गरी हिरासतमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।