बाँके, १२ साउन । दाइजोका कारण आगोमा जलाइएकी २० वर्षीया रिहाना ढपालीको उपचारका लागि अर्थाभाव भएपछि नेपाल इक्रा एजुकेसनल फाउन्डेसन बाँकेले आर्थिक सहयोग गरेको छ ।
तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगन्जसँग उपचारका लागि व्यवस्था मिलाइदिन माग गरेपछि सो संस्थाको पहलमा इक्राले आर्थिक सहयोग गरेको हो ।
रिहनाको दायाँ खुट्टाको घाउ पाक्न थालेपछि उनी चिन्तित बनेकी छन् । रिहनाको निःशुल्क उपचारका लागि महिला तथा बालबालिका कार्यालय नेपालगन्जले भेरी अञ्चल अस्पताललाई पत्र लेखेपनि रिहनाले मेडिकल कलेजमा उपचार गराउने बताएकी छिन् ।
रिहनाको उपचार आजदेखि मेडिकल कलेज नेपालगन्जमा हुने बुबा समिम शेष ढपालीले बताउनुभयो । आगोमा जिउँदै जलाउन प्रयास गर्नेलाई प्रहरीले किन पक्राउ गर्न नसकेको हो भन्ने प्रश्न गर्ने रिहनाले न्यायका लागि पहल गरिदिन थर्ड एलायन्ससँग माग गरेकी छिन् ।
पाँच महिना पहिला बाँके लक्ष्मणपुर– ८ मियापुरकी रिहनालाई मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका थिए ।
उपचारका लागि वीर अस्पताल पुगेकी रिहनाले विभिन्न संस्थाको सहयोगमा उपचार गराएर आफ्नो माइती घर हिरमिनिया फर्केको एक महिना भएको छ ।
मुस्लिमहरूको पवित्र महिना रोजा बस्न नपाएकामा चिन्ता व्यक्त गर्ने रिहनाले इद पर्व मनाउने तयारी गरिरहेकी छिन् । रिहनाको बुबा समिमका अनुसार छोरीका लागि कपडा सिलाइ सकिएको छ र इद मनाउने तयारी पनि पूरा भएको छ ।