काठमाडौँ, १० साउन । नवोदित उपन्यासकार रामप्रसाद सापकोटा ‘दीपशिखा’को उपन्यास ‘रात फुलेको याम’को राजधानीमा विमोचन गरिएको छ ।  एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले उपन्यासको विमोचन गरे ।

सो उपन्यासको विमोचन गर्दै उनले १० वर्षे सशस्त्र युद्धलाई नजिकबाट बुझ्न र मनन गर्न लायक कृति नेपाली प्रगतिवादी साहित्यले पाएको बताए ।

यस युद्धबाट प्राप्त राजनीतिक, समाजिक तथा सांस्कृतिक उपलब्धि धरापमा पर्ने खतरा बढिरहेका बेला सर्जकले आ–आफ्नो विधामार्फत त्यसको जर्गेना गर्नुपर्नेमा उनको जोड थियो ।

उपाध्यक्ष बोगटीले भने, “युद्धका दौरानमा भएका सानातिना घटनालाई पनि साहित्यको माध्यमबाट प्रकाश पार्नु र आम समुदायलाई जागृत बनाउनु र परिवर्तनको सपनालाई ज्यूँदो राख्नु आजको आवश्यकता हो ।”

वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली समाजको यथार्थ तस्बिरलाई सरल भाषामा उपन्यासको स्वरुप दिनु गाह्रो भएपनि नयाँ पुस्ताले त्यसका लागि खोजी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समालोचक डा रमेश भट्टराईले जनयुद्धको विद्रोह र करुणालाई सरल भाषामा प्रस्तुत गरिएको उपन्यासले नेपाली समाजलाई चित्रण गरेको भन्दै विद्रोहको सौन्दर्य अन्य सौन्दर्यभन्दा गहन र मननयोग्य भएको बताए ।

पत्रकार कृष्णज्वाला देवकोटाले नेपाली उपन्यास लेखनमा फरक–फरक शैली भएपनि विद्रोहको कथा नै बढ्ता सजीव रहने उनको कथन थियो ।

साङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको सो उपन्यासमा सशस्त्र युद्धकालीन कथालाई नवीन सोचका साथ प्रस्तुत गरिएको छ ।

एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिगका काठमाडौँ उपत्यका संयोजकसमेत रहेका सापकोटाको सो उपन्यासमा २०६२÷६३ को जनआन्दोलन र दशवर्षे युद्धका केही घटनालाई समेटेर उपन्यासको रुप दिइएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।