काठमाडौँ, ३२ असार । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) सहितका राजनीतिक दलले शान्ति प्रक्रियाका अधुरा काम पूरा गर्ने तथा द्वन्द्वका घाइते तथा अपाङ्गलाई बजेटले सम्बोधन नगरे त्यसको विरोध र बहिष्कार मात्र होइन प्रतिरोध समेत गर्ने चेतावनी दिएका छन् ।
व्यस्थापिका–संसदको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आव २०७१÷७२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सभासद्ले बजेटले गरिब तथा निमुखा जनताको जनजीविकाको सुनिश्चितता गर्न नसकेको र क्षेत्रीय सन्तुलन पनि कायम नभएको टिप्पणी गरे ।
समग्र अर्थतन्त्रलाई कायापलट गर्ने ढङ्गबाट नभई पुँजीपति वर्गलाई मलजल गर्ने ढङ्गबाट बजेट आएको आरोप लगाउँदै उनीहरूले भने, “झण्डै सवा छ खर्बको बजेट आउँदा जनताले त परै जाओस् सभासद्लाई समेत स्वाद आउन सकेको छैन, सकारात्मक कुरा बजेटमा केही पाइँदैन, बहसको औचित्य पनि छैन ।”
उता सत्ता पक्षका सभासद्ले भने तीन वर्षभित्र विद्युत्भार कटौती अन्त्य, कृषि क्षेत्रको विविधीकरण र व्यवसायीकरण, विकासका क्षेत्रमा निजी क्षेत्रलाई सँगसँगै लैजाने प्रतिबद्धता, सीमित साधन स्रोतको समुचित उपयोगमा बजेटले जोड दिएकाले धेरै सुधारोन्मुख मान्नुपर्ने तर्क गरेका थिए ।
बजेटका सकारात्मक र नकारात्मक पाटा भएपनि भविष्य उज्यालो तुल्याउने हिसाबले बजेट आएको र अर्थतन्त्रको विकासका लागि यो बजेट अतिउपयोगी हुने उनीहरूको धारणा थियो ।