काठमाडौँ, ३१ असार । नेकपा एमालेको नवौंँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली एक हजार दुई मत ल्याएर विजयी भएका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी माधवकुमार नेपालले ९६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने भीमबहादुर रावल एक हजार ३३०,  वामदेव गौतम एक हजार ७५, विद्यादेवी भण्डारी एक हजार ५७, युवराज ज्ञवाली एक हजार २६ र अष्टलक्ष्मी शाक्य एक हजार छ मत   ल्याएर विजयी भएका छन् । उपाध्यक्षका उम्मेदवार प्रदीप नेपाल, राजेन्द्रप्रसाद पाण्डे, लालबाबु पण्डित, किरण गुरुङ र धर्मनाथप्रसाद साह पराजित भए ।

त्यस्तै महासचिवका उम्मेदवार ईश्वर पोखरेल एक हजार ५१ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद पाण्डे एक हजार २३ ल्याएका थिए ।

उपमहासचिवमा घनश्याम भुसाल एक हजार ४१ र  विष्णुप्रसाद पौडेल एक हजार ४५ मत ल्याई विजयी भए । सो पदमा शङ्कर पोखरेल र रघुजी पन्त पराजित भए ।

सचिवका उम्मेदवारमा गोकर्णराज विष्ट एक हजार २०६, प्रदीपकुमार ज्ञवाली एक हजार १०६, योगेश भट्टराई एक हजार २८, पृथ्वी सुब्बा गुरुङ ९९६ र  भीमप्रसाद आचार्य ८८७ मत ल्याएर विजयी भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सचिवका उम्मेदवार विष्णु रिमाल, रघुवीर महासेठ, परशुराम मेघी गुरुङ, वेदुराम भुसाल र केशवलाल श्रेष्ठ पराजित भए ।

औपचारिक रुपमा घोषणा भने पार्टी निर्वाचन आयोगले दिने जनाइएको छ । केन्द्रीय सदस्यको भने मतगणना भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।