वैशाख ३० । तीन सातादेखि फैलिएको जन्डिसले १० को मृत्यु भईसक्दा पनि सरकारले उचित कदम नचालेपछि स्थानीय आक्रोशित बन्न थालेका छन् । 
विराटनगरमा दूषित खानेपानीका कारण फैलिएको हेपाटाइटिस इ र ए बाट १० जनाको निधन भएको छ । यस्तै, जन्डिस प्रभावित १ हजार भन्दा बढी बिरामी अस्पतालमा उपचार गराईरहेका छन् । 
पानीकै कारण जन्डिस फैलिएको र सरकारले विशेषज्ञसहितको टोली घटनास्थलमा नपठाएर बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
जन्डिस प्रकोपबारे बुझ्न मंगलबार विराटनगर पुगेका सहरी विकास मन्त्री डा. नारायण खड्का भने स्थानीयको आक्रोशको सिकार बन्न पुगे ।
खड्काले जिल्ला प्रशासनको सभा हलमा सरोकारवालाहरुसँग छलफल गरिरहेका बेला कार्यक्रमस्थल बाहिर स्थानीयले उनी विरुद्ध नारावाजी गरेका थिए । 
स्थानीयले खानेपानी शुद्ध गर्नुपर्ने या त वितरण नै बन्द गर्नुपर्नेु भन्दै चर्को नारावाजी गरेका थिए । सो क्रममा प्रहरीले सामान्य बल समेत प्रयोग गरेको थियो ।
छलफलमा खड्काले बढी प्रभावित देखिएको क्षेत्रमा केही दिनसम्म निशुल्क पमा ट्याङकरबाटै शुद्ध खानेपानी वितरण गरिने बताएका थिए ।  तर, स्थानीय भने सरकारले विशेषज्ञसहितको टोली नपठाएको तथा जन्डिसका कारण १० जनाको मृत्यु भईसकेको र हजार बढी बिरामी हुँदा पनि राज्यले वेवास्ता गरेको भन्दै आक्रोशमा आएका हुन् ।
२०१७ सालमै विच्छयाइएको खानेपानी पाइप जिर्ण भई दिशा तथा फोहोर मिसावट हुँदा जन्डिस प्रकोप उत्पन्न भएको स्थानीय बताउँछन् ।
खानेपानीका कारण विराटनगरमा वर्षेनी स्थानीय प्रभावित हुने गरेपनि सरकारले भने खासै चासो देखाएको पाइएको छैन ।
यसपालि प्रकोपका रूपमा जन्डिस देखिए पनि विराटनगरसहित मोरङमा तीन वर्षयता दूषित खानेपानीका कारण जन्डिसको समस्या देखिदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०६७/६८ मा १ हजार ४ जना, ०६८/६९ मा १ हजार ७ सय ६६ र ०६९/७० मा २ हजार ४ सय ४९ जन्डिसपीडित थिए । चालू आर्थिक वर्षको फागुनसम्म १ हजार ६ सय १८ जना पीडित भएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।