वैशाख २३ । एमाले अध्यक्ष झलनाथ खनाल १० दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उनी १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलवार चीन प्रस्थान गरेका हुन् ।
आगामी जेठ २४ देखि ३० सम्मका लागि तोकेको महाधिवेशन मिति करीब एक महिना पछि सारेको भोलिपल्टै चीन प्रस्थान गरेका खनालले चीन भ्रमणका क्रममा उच्चस्तरीय चिनीया नेतृत्वलाई एमालेको आगामी नवौँ महाधिवेशनमा औपचारिक निम्तो दिने छन् । अध्यक्ष खनालकै प्रस्तावमा एमाले महाधिवेशन असार १९ देखि गर्ने निर्णय सोमवारको केन्द्रीय कमिटि बैठकले गरेको थियो ।
त्यसैगरी खनालले चीन भ्रमणका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्वन्धलाई निरन्तरता दिन चीनका उच्चस्तरीय नेतृत्वसँग भेट गर्ने तयारी गरेका छन् । खनालले चीन प्रस्तान गर्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भ्रमणले दुईदेशबीचको मैत्रीपुर्ण सम्वन्धलाई निरन्तरता दिन भ्रमणलाई अझ उपलव्धीपूर्ण बनाउँने जानकारी दिए । सोही क्रममा खनालले आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व छनोट हुने पनि दाबी गरे ।
खनालको साथमा एमाले पोलिट्व्युरो सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य गरिमा शाह , पर्शुराम मेघी गुरुङ, एकबहादुर राना, शत्रुधन महतो, चन्द्रबहादुर शाही, पर्सा जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य, स्याङ्जा जिल्ला अध्यक्ष पद्मा अर्याल, किसान महासंघका उपमहासचिव बलराम बास्कोटा, एमाले केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेषमणि आचार्य, सङ्घीय मामिला सचिव शिव गुरुङ्, विदेश विभाग सदस्य मिलन तुलाधर, खनालका स्वकीय सचिव दिपक अमात्यलगाएत रहेका छन् । विमानस्थलमा खनालको विदाईका लागि उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम, महासचिव इश्वर पोख्रेललगाएत पुगेका थिए ।
यसैबीच मंगलवार विहानै नेपाल पत्रकार महासंघको नवनिर्वाचित टोलीले अध्यक्ष खनाललाई एमाले मुख्यालय वल्खुमा भेट गरेको छ । वामपन्थी पत्रकारहरुको संयुक्त प्यानलबाट निर्वाचिट भएको उक्त टोलीले निर्वाचित भए पछि सबै भन्दा पहिला अध्यक्ष खनाललाई भेट गरेको हो । टोलीमा नवनिर्वाचित अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष खिलावहादुर भण्डारी, महासचिव उजिर मगरलगाएत रहेका थिए । महासंघका टोलीसँगको भेटमा खनालले संविधान निर्माणमा सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए । नवनिर्वाचित अध्यक्ष विष्टले पनि आफुले श्रमजीवि पत्रकारहरुको हक–हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।