वैशाख १४ । नागरिकता वितरणका क्रममा इलामको दानाबारीमा चिनजान भएकी सरला शर्मा (नाम परिवर्तन) लाई टोलीको नेतृत्व गरेर खटिएका एक कर्मचारीले दैनिकजसो फोन गरेर हैरान पारे। बिधुवा उनले अति भएपछि फोन नम्बर नै परिवर्तन गरिन्। तर कतै उजुरी गर्ने आँट भने गर्न सकिनन्।
एकल महिलाको अधिकारका विषयमा कार्यरत यशोदा बानियाँले भनिन्, ‘घुम्तीपिच्छे कुरा काट्ने र नसालु आँखा लगाउनेको ठूलै जमातको सामना गर्नुपर्ने अवस्था छ।एकल महिलाका क्षेत्रमा कार्यरत युथ एसोसिएसन अफ नेपाल (यान) ले पति गुमाएका महिलाको समस्या अरू एकलको भन्दा फरक भएको ठहर गर्दै संविधानसभा निर्वाचनताका उम्मेदवारलाई आठबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो।
यानले स्थानीय विकास मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०५६ ले सबै एकल महिलालाई एउटै परिभाषाभित्र राखेको भन्दै असहमति जनाएको छ। यानको ठहर छ, ‘पतिको निधनपछि एकल भएका महिलाको मानसिक पीडा, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा उनीहरूमाथि गरिने भेदभाव, परिवारबाट गरिने हिंसा र प्रयोग गरिने शब्द नै भिन्न रहेको अवस्थामा उनीहरूलाई अन्य एकल महिलासँग तुलना गर्न मिल्दैन।
सरकारले पति गुमाएका महिलाको परिभाषामै परिवर्तन गर्नुपर्ने माग गरे पनि सरकारले यसलाई समस्या नै नठानेको आरोप यानले लगाएको छ। सहकर्मी, आफन्त र समाजका अगुवाबाट मानसिक र शारीरिक हिंसा सहनुपर्ने अवस्था रहेको एकल महिला उर्मिला शर्माले बताइन्। रात पर्नासाथ फोनको आतंक सुरु गर्नेहरूमा दलका नेतादेखि शिक्षकसम्म हुने गरेको उनको अनुभव छ। ‘धेरैको त कतै रात बस्ने गरी घुम्न जाने प्रस्ताव आउँछ। अस्वीकार गर्दा तितो गाली सहनुपर्छ, उर्मिलाले भनिन्।
इज्जत जाने डरले आतंक सहन बाध्य कतिपय बिधुवाले मानसिक सन्तुलनसमेत गुमाएको यानले जनाएको खबर तोयानाथ भट्टराईले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।
Comments