चितवन, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताएका छन् ।

चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताए । पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उनले व्यक्त गरे ।

भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताए ।

देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उनले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति सम्झौताले दुरगामी परिवर्तन ल्याउन सफल भएको बताए । नेपालमा भएको शान्ति सम्झौताले विश्वको ध्यान केन्द्रित गराउन सफल भएको उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।