काठमाडौं ३ फागुन ।
एमालेको तर्फबाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्व डीआर्इजी नवराज सिलवाल फरार अभियुक्तको सूचीमा दर्ज भएका छन् ।

मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएको नयाँ पत्रिका दैनिकले समाचारमा उल्लेख छ । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस गरेका हुन् ।

अधिवक्ता भाइराज राईले नयाँ पत्रिकासँग मुद्दा सरकारी अदालतमा पेस भएलगत्तै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएको बताएको समाचार उल्लेख छ। तर, उनको सांसद पद भने तत्कालका लागि निलम्बनमा पर्दैन । सरकारी वकिल कार्यालयले प्रहरीले पेस गरेको मुद्दा अध्ययन गर्छ ।

अध्ययनपछि अभियोग दर्ता गर्न मिल्ने हो या होइन, टुंगो लाग्छ । अभियोग दर्ता हुन योग्य ठहरिए सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा अदालतमा दर्ता गर्छ । दर्ता गर्न योग्य ठहरिएन भने मुद्दा मुल्तबीमा रहनेछ ।

अदालतमा मुद्दा पेस भएपछि बहस हुनेछ । अदालतले फरार अभियुक्तलाई बयानका लागि ७० दिनको म्याद दिनेछ । ७० दिनभित्र बयानका लागि फरार अभियुक्त अदालतमा हाजिर नभए मुद्दा कमजोर भएको ठहरिनेछ । त्यसपछि न्यायाधीशले फरार अभियुक्तविरुद्ध आवश्यक दण्ड–जरिवानासहित मुद्दाको फैसला गर्नेछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।