काठमाडौं ८ फागुन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सैद्धान्तिक र व्यवहारिक किसिमले एकै कम्युनिष्ट पार्टी भइसकेको बताएका छन् । यद्यपी कानुनी रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै नयाँ पार्टी हुने समेत स्पष्ट पारे ।

प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने समेत बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राती बसेको बैठकले दुई वटा कार्यदल गठन गरेको थियो ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष “सह–अध्यक्ष”का रुपमा रहने समेत जानकारी दिए ।

बैठकको अध्यक्षता आलोपालो गरिने गरि नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर समेत रहने उनको भनाई थियो ।

पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउँदै प्रचण्डले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।