काठमाडौं ११ फागुन
नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रीको प्रारम्भिक सूची तयार गरेको छ । तीन नेताले अन्तिम सूची भने तय गर्न सकेका छैनन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा बरिष्ठ नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबिच शुक्रबार भएको छलफलमा मन्त्री र राज्यमन्त्री गरेर सातै प्रदेशको प्रतिनिधित्व गराउने तयारी छ ।


यस्तो छ प्रारम्भिक सूची
शिर्ष तीन नेताले प्रदेश १ बाट अमनलाल मोदी, सुदन राई र सुरेश राई मध्ये एक जनालाई सरकारमा पठाउने तयारी गरेका छन् । स्रोतका अनुसार प्रदेश एकबाट राज्यमन्त्री मात्रै पाउने सम्भावना पनि बढी छ ।
प्रदेश २ बाट गिरिराजमणि पोखरेल र मातृका यादवको नाम चर्चामा छ । दुवै जना मन्त्री छानिने सम्भावना छ । प्रदेश ३ बाट रामबहादुर थापा, पम्फा भुषाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितबहादुर तामाङको नाम प्रारम्भिक सूचिमा परेको छ । थापा र भुसाल दुई जना प्रदेश तीनबाट मन्त्री हुने सम्भावना छ । पार्टी अध्यक्षपछि संसदमा प्रतिनिधित्व गर्ने दोस्रो बरियतामा थापा रहेकाले उनकै नेतृत्वमा सरकारमा जानेमा पार्टीभित्र सहमति जस्तै देखिएको छ भने भुसाल पार्टी प्रवक्ता रहेको, महिला कोटामा पर्ने तथा माओवादीबाट उपत्यकाबाट प्रत्यक्षमा एकमात्र सिट जित्ने नेता समेत भएकाले पनि उनी मन्त्रीको सूचिमा पर्ने प्रवल सम्भावना रहेको छ । प्रदेश ४ बाट देवेन्द्र पौडेल र देव गुरुङ, पाँचबाट बर्षमान पुन र चक्रपाणि खनाल, प्रदेश ६ बाट जनार्दन शर्मा र शक्ति बस्नेत र प्रदेश ७ बाट विना मगर र लेखराज भट्टको नाम नेताहरुको प्रारम्भिक सूचीमा परेको छ ।
माओवादी केन्द्रको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री छनोट हुन नसकेपछि पार्टी अध्यक्ष दाहाल र बरिष्ठ नेताद्धय श्रेष्ठ र थापालाई मन्त्री छनोटको जिम्मा दिएको थियो ।

गृहमा चर्को लबिङ, बादलकै सम्भावना बढी
माओवादीभित्र गृह मन्त्रालय मिलाउन नेताहरुलाई हम्मे परेको छ । पूर्व रक्षामन्त्री समेत रहेका बादल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री समेत रहेका पोखरेल, पूर्वअर्थमन्त्री रहेका पुन तथा पूर्व उर्जामन्त्री रहेका शर्माले गृहमा दाबी गरेका गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी शिर्ष नेतासँग उपप्रधानमन्त्री नराख्ने प्रस्ताव राखेकाले बादलको नेतृत्वमा सरकारमा जाँदा उपप्रधान नहुने भएको खण्डमा बादलले नै गृह मन्त्रालय सम्हाल्न सक्ने सम्भावना बढी छ । प्रधानमन्त्रीपछि ‘पावर सेयरिङ’ मा गृह मन्त्रालय दोस्रो शक्तिशाली मन्त्रालय मान्ने गरिन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।