काठमाडौं ११ फागुन
सिंहदरबारको पश्चिम मुख्य गेट नजिकै शहरी विकास मन्त्रालय छ । त्यहीँ मन्त्रालयमा शुक्रबार दिनभरी हल्ला फिजियो– माओवादी प्रवक्ता पम्फा भुसाल मन्त्रीका रुपमा आउँदै भनेर ।
माओवादी केन्द्रका शिर्ष नेता छलफलमा जुटिरहेको अवस्थामा भुसालले शहरी विकास मन्त्रालय पाउने पक्का भएको कुरा मन्त्रालयमा पुगेको थियो । स्रोतका अनुसार भुसाल मन्त्री हुने सूचीमा भएपनि कुन मन्त्री भन्नेबारे भने टुंगिएको छैन ।
वन मन्त्रालयमा पनि त्यस्तै चर्चा चुलियो– ‘मातृका यावद पो रे त वनमन्त्री ।’ एमाले र माओवादीबिचको मन्त्रालय भागबन्डामा वन माओवादीको भागमा परेपछि पूर्व वन मन्त्री समेत रहेका यादव फेरि वन मन्त्रीका रुपमा आउन सक्ने आकलन मन्त्रालयका कर्मचारीले गरेका थिए ।
उर्जा मन्त्रालयमा पनि पूर्व उर्जामन्त्री जनार्दन शर्माको चर्चा चलेको थियो । शर्माको पालामा लोडसेडिङ अन्त्य भएकाले फेरि शर्मा उर्जा मन्त्री हुने चर्चा एकाएक मन्त्रालयका कर्मचारी चलेको थियो ।
यो बाहेक गृह, अर्थ लगायतका मन्त्रालयमा भावी मन्त्री को आउला भनेर कर्मचारीबिच विभिन्न चर्चा चलेका थिए । एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ भने माओवादी केन्द्रले शिर्ष तीन नेतालाई जिम्मेवारी सुम्पेका छन् । आइतबार सरकारले मन्त्रीपरिषद विस्तारको तयारी गरेको छ भने दुवै दलले मन्त्रीको टुंगो लगाउन सकेका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।