काठमाडौं १३ फागुन
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन भोलि (सोमबार) देखि सुरु गर्ने भएका छन् । एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माणसम्बन्धी कार्यदलको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

दुवै पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई मिलाएर एकीकृत दस्तावेज बनाउन चार सदस्यीय उपसमितिसमेत गठन गरिएको माओवादी केन्द्रका प्रवक्ता एवं कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
सो उपसमितिमा एमाले उपाध्यक्ष भीमबहादुर रावल र सचिव प्रदीपकुमार ज्ञवाली तथा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य छन् । एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अंगीकार गर्दै आएको ‘माओवाद’ र एक्काइसाँै शताब्दीको जनवाद’का साझा र आधारभूत विषयका आधारमा सैद्धान्तिक प्रतिवेदन तयार पारिनेछ । पार्टी एकताका लागि तयार पारिएको सातबुँदे सहमतिपत्रमा माक्र्सवाद र लेनिनवादलाई अंगीकार गर्ने विषय समेटिएकाले पनि कार्यदललाई सैद्धान्तिक प्रतिवेदन तयार पार्न सहज हुने बताइएको छ ।

प्रतिवेदन तय भएपछि त्यसकैको आधारमा पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई दल छन् । दुई दलले संगठन र विधान सम्बन्धी कार्य गर्नका लागि गत ७ फागुनमा दुई कार्यदल गठन गरेका थिए । दुवै कार्यदललाई १५ दिनको समय दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।