काठमाडौं १७ फागुन
नेकपा एमाले–नेकपा माओवादी र संघीय समाजवादी फोरमबिच मन्त्रालय बाँडफाँडमा कुरो अड्किएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय भाडबन्डामा कुरो नमिलेपछि वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

फोरमले तीन मन्त्रालय र उपसभामुख मागेको छ । सत्तारुढ दल दुई मन्त्रालय र १ राज्यमन्त्री दिन सहमत जस्तै देखिए पनि फोरमले तीन वटा मन्त्रालयमा दाबी नछाडेको हो । फोरमले उपसभामुख समेत माग गरेको छ । कि दुई मन्त्रालय र उपसभामुख वा तीन मन्त्रालय हुनुपर्ने फोरमको अडानका कारण आज सहमति हुन नसकेको बताइएको छ ।
तीन दलबिच संविधान संशोधनका विषयमा भने समझदारी जुटेको छ । आपसी समझदारीका आधारमा संविधान संशोधन गर्न तीन दल सहमत भएपछि मन्त्रालय बागबन्डामा कुरो अड्किएको हो । फोरम सरकारमा सहभागी हुने देखिएपछि सत्तारुढ दलले सरकारको पूर्णता दिने कामलाई रोकेर राखेका छन् । ३ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चयन भएका थिए । १४ फागुनमा दुई एमालेका र दुई माओवादीका मन्त्री समेटेर दोस्रो पटक सरकार विस्तार गरेपछि फोरम सरकारमा आउने सम्भावना बढेपछि अन्य मन्त्रालयको दुई दलले टुंगो लगाएका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।