काठमाडौं २२ फागुन
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि सोमबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट ४४ मत ल्याएर कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा विजयी बने भने उनका प्रतिद्धन्दी पूर्व महामन्त्री प्रकाशमान सिंह पराजित भए ।
निर्वाचन पूर्व नै देउवाले जित्ने पक्कापक्कै जस्तै थियो । त्यति मात्र नभएर सिंहलाई उपनेता दिने प्रस्ताव समेत देउवाले गरे पनि उनी हार्दैछु भनेर जान्दाजान्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । चुनावी प्रतिस्पर्धाका समयमा भने देउवाइतर समूहबाट नै सिंहलाई घात भएको छ ।
प्रत्यक्षतर्फ चुनिएका २३ कांग्रेस सांसदमध्ये बहुमत देउवाइतर समूहका थिए । प्रकाशमान सिंहलाई प्रत्यक्षमा जितेकामध्ये ८ जना र समानुपातिकका ११ जनाले मात्र भोट हाले । प्रत्यक्षमा जितेका कम्तीमा १२ सांसद देउवा समूहमा थिएनन् ।
नारायण खडका, मिनेन्द्र रिजाल, भीमसेनदास प्रधान र उमाकान्त चौधरी देउवा समूहमा नभए पनि भोट भने देउवालाई नै दिएको कांग्रेसका नेताहरु दाबी गर्छन् । प्रधान र चौधरी कृष्ण सिटौला समूहका हुन् । सिंह र प्रधानबीच काठमाडौंमा मनमुटावले प्रधानले भोट हालेनन् ।
सिंहलाई अझै ठूलाे घाटा भने पार्टी महामन्त्री शशांक कोइरालाबाट भएको छ । कोइरालाई सिंहले आफ्नो उमेद्वारीको प्रस्तावक बनाउन चाहे पनि मानेनन् मात्र हाेइन, सिंहलाई भोट समेत मागिदिएनन् । संसदीय दलको चुनावमा शशांकले प्रकाशमान सिंहलाई नसघाएपछि कतिपयले कोइरालालाई डुलमुले नेताको संज्ञा समेत दिन भ्याएका छन् ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको हारपछि नेतृत्व परिवर्तनको मुद्धा उठाउने रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला तथा युवा नेताहरू गगन थापा र प्रदीप पौडेलहरु संसदीय दलको चुनावबाट कमजोर देखिन पुगेका छन् भने देउवा भने झनै बलिया देखिएका छन् ।
संसदीय दलको चुनाव– कांग्रेस गुटमा अन्तरघात गर्ने यी हुन् नेताहरु
Comments