काठमाडौं २२ फागुन
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा सबै दलका नेताहरुले सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने हिन्दीमा भाषण गरेका छन् ।
संसदमा राष्ट्रिय भाषामा बोल्ने गरिए पनि उनले हिन्दीमा सम्बोधन गरेर सबैको भावनालाई सम्बोधन गरेर अघि बढ्न वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए । उनले जनताले वाम गठबन्धनलाई ठूलो दल बनाएको भन्दै मन ठूलो बनाउन केपी शर्मा ओली र प्रचण्डलाई आग्रह गरेका थिए ।
महताेले हिन्दीमा सम्बोधन सकाए लगत्तै बोल्ने पालो पाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने नेपालीमा नै सम्बोधन गरेका थिए । त्यति मात्र नभएर उपेन्द्रले राष्ट्रियता, भाषा सँस्कृतिको चिन्ता समेत गरे  ।
उनले विदेशी कामदारहरु कति नेपालमा काम गरिरहेको र के काम गरिरहेकोबारे सरकार जानकार हुनुपर्ने र तिनीहरुले नेपालको भाषा, सँस्कृतिमा असर गरिरहेको बताएका थिए । ‘नेपालमा भनिन्छ चार हजार भन्दा बढी विदेशी संस्था, एनजिओ आइएनजिओहरु काम गर्छन, सरकारलाई थाहा छ तिनीहरु कहाँ कहाँ काम गर्छन् ?’ उनले संसदमा भने, ‘त्यसले बौद्धिक वर्गलाई अलि अलि आर्थिक दास त बनाउन सफल हुन्छ, तर त्यसको नकरात्मक असर हाम्रो परिचय, हाम्रो धर्म, हाम्रो भाषा, हाम्रो राष्ट्रको एकतामा असर गरिरहेको हुन्छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।